आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धन बलियो बनाउन नेकपा माओवादी लगायतका दल फकाउन व्यस्त एमालेकै पुराना नेताहरु एकपछि अर्को गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीकै गृहजिल्लाका पुराना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको भोलिपल्ट मंगलबार कैलालीबाट निर्वाचित निर्वमान सांसद तथा पूर्व मन्त्री मोहनसिंह राठौर कांग्रेसमा प्रवेश गरेका छन्।
उनीसँगै एमालेबाट संविधानसभामा कैलालीबाट समानुपातिकतर्फ निर्वाचित निवर्तमान सांसद रवनी चाैधरी तथा २०७० सालमा कांग्रेसबाट टिकट नपाएको झोकमा नेकपा माओवादीमा प्रवेश गर्दै सर्लाही १ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री शम्भु श्रेष्ठ पनि कांग्रेसमा प्रवेश गरेका छन्।
उनीहरुलाई आजै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।
श्रेष्ठको राजनीतिक पृष्ठभूमि कांग्रेसबाटै सुरु भएको भएपनि सुदुरपश्चिम क्षेत्रको वामपन्थी राजनीतिमा राठौरको महत्वपूर्ण भूमिका रहँदै आएको थियो।
अन्तको तुलनामा सांगठनिक रुपमा सुदुरपश्चिममा कमजोर रहेको एमालेलाई राठौरको बहिर्गमनले थप कमजोर बनाएको छ भने कैलालीमा कांग्रेस अझ बलियो बन्ने सम्भावना बढेर गएको छ।
उनीहरु दुबैलाई कांग्रेसले आसन्न संसदको निर्वाचनमा प्रत्यक्ष तर्फ टिकट दिने निर्णयसँगै राठौर कैलालीबाट र श्रेष्ठ सर्लाहीबाट चुनाव लड्ने भएका छन्।