बीस अर्ब रकमले वामगठबन्धन बनेको खुलासा !

बीस अर्ब रकमले वामगठबन्धन बनेको खुलासा !

चीनबाट निर्वाचनमा वाम गठबन्धनको सहयोगका लागि आएको २० अर्ब रुपैयाँ भागबण्डा गर्नका लागि एमाले र माओवादीका शीर्ष नेताबीच गोप्य रूपमा बैठक बसेको विषयमा केही अनलाइनमा समाचार आएका छन् । एमाले उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा शुक्रबार र शनिबार बसेको बैठकमा एमाले–माओवादी केन्द्रका शीर्ष नेताहरूको उपस्थिति रहेको स्रोतको हवाला दिँदै लेखिएको छ ।

सधैँजसो ती पार्टीका कार्यालयहरू, केपी ओली वा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास तथा रिसोर्टहरूमा बस्ने गरिएको बैठक गोप्य कुराहरू लिक हुने डरले गौतमको निवासमा बैठक बसेको समाचार छ । बैठकमा ओली र प्रचण्डका विश्वासपात्र नेताहरूलाई मात्रै इन्ट्री दिइएको बताइन्छ ।

एमालेका उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, माओवादीका नेता कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माको संयुक्त पहलमा यति धेरै रकम वाम गठबन्धनको सहयोगका लागि नेपाल आएको र मतदानका वेला वामगठबन्धन कमजोर रहेका स्थानमा सो पैसा वितरण गर्ने गोप्य योजना ओली र प्रचण्डले बनाएको उल्लेख छ ।

आगामी प्रदेश तथा केन्द्रको निर्वाचनमा वाम गठबन्धनको जसरी पनि दुईतिहाई बहुुमत पुर्याउने र आफू अनुकूलको निर्णय गराउने पक्षमा रहेको चीनले यसअघि स्थानीय तहको निर्वाचनका लागि पनि एमालेलाई १० अर्ब रुपैयाँ दिएको खुलासा गरिएको छ ।

जनार्दन शर्माले ऊर्जामन्त्रीबाट हटिसकेपछि बुढीगण्डकी जलविद्युत् आयोजनाको ठेक्का तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विनाप्रतिस्पर्धा चिनियाँ ठेकेदारलाई दिएको र सो कम्पनीले दिएको पाँच अर्ब कमिसनमध्ये जनार्दन शर्माले ५० करोड, पुष्पकमल दाहालले २ अर्ब २५ करोड र केपी ओलीले पनि २ अर्ब २५ करोड बाँडेर लिएको बताइएको छ ।

नेपालका कम्युनिस्ट पार्टीहरूको सहयोगका लागि चीनले आर्थिक सहयोग गरेका समाचारहरू वेलावेलामा आइरहेका हुन्छन् । यसअघि केही वर्षपहिले माओवादी नेता कृष्णबहादुर महराले माओवादी पार्टीका लागि सहयोग भन्दै ५० करोडको माग गरी चिनियाँ अधिकारीसँग गरेको कुराकानीको अडियो टेप नै सार्वजनिक भएको थियो ।

त्यस सम्बन्धमा महरा वा माओवादी कसैले पनि कतै खण्डन गरेको थाहा पाइएन । त्यसैगरी अहिले प्रकाशित समाचारको पनि एमाले–माओवादीको कुनै तहतप्काबाट खण्डन नआउनुले समाचार सत्य रहेको आँकलन गर्न सकिन्छ ।

त्यसैगरी एनआरएनएका पूर्वअध्यक्ष शेष घलेबाट एमाले पार्टीलाई सहयोगस्वरूप आएको ६ करोड रुपैयाँको कुनै हिसाब–किताब नदेखाएको भन्दै नेता माधव नेपालले अध्यक्ष ओलीलाई र्याख्र्याख्ती पारेको घटनाले पनि राम्रै चर्चा कमाएको थियो । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउनुपर्ने अन्तिम दिनको सो ६ करोड काण्डले एमालेवृत्तमा ठूलै खैलाबैला मच्चाएको थियो ।

आफूलाई सर्वहाराको प्रतिनिधि भनेर कहिल्यै नथाक्ने, तर सम्पत्तिका लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपालका केही कम्युनिस्ट पार्टीहरूमा विद्यमान छ । माओवादी वा एमालेकै वरिष्ठ नेताहरूले पनि पत्तो नपाई एक्कासि रातारात वामगठबन्धनको सूत्रपात हुनुमा पनि यस्तै ‘डोनेसन’ले काम गरेको हुनसक्ने विश्लेषण गरिएको छ ।

हिन्दू धर्म र लोकतन्त्रलाई नै असर पुर्याउने र इसाई धर्मलाई प्रोत्साहन गर्ने गरी गरिएको वामगठबन्धन राजनीतिकभन्दा पनि अवसरवादी गठबन्धन भएको भन्दै कतिपय वामपन्थी नेताहरूले नै आरोप लगाइरहेका छन् । कुनै समय माओवादीका प्रभावशाली नेता एवं वर्तमान समयमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ले एमाले तथा माओवादीलाई ‘वामपन्थी होइन दामपन्थी’ भएको आरोप लगाएका छन् ।

यसअघिका विभिन्न सर्वेक्षणहरूले पनि माओवादी र एमाले सर्वाधिक धनी पार्टीहरूको सूचीको पहिलो र दोस्रो भएको तथ्य सार्वजनिक भएको थियो । यस तथ्यले पनि यी पार्टीहरू पैसाका लागि जतिवेला पनि जस्तोसुकै सम्झौता गर्न सक्ने पुष्टि गर्छ ।