सिद्धान्ततः धर्मलाई ‘अफिम’ मान्ने कम्युनिष्टहरू आफ्नो लाभ र स्वार्थका लागि जे पनि गर्छन् भन्ने कुरा नेपालका कम्युनिष्टहरूको पछिल्लो गतिविधिले पुष्टि गर्दै गएको छ । नेपालबाट सनातन हिन्दू धर्मलाई पाखा लगाउने इसाई धर्मलाई व्यापक बनाउने काममा उनीहरू हात धोएरै लागिपरेको विभिन्न घटनाक्रमले पुष्टि गरेको छ ।
माओवादी शान्तिप्रक्रियामा आएलगत्तै सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शनिको प्रभाव नियन्त्रण गर्ने हेतुले सुनसरीको बराहक्षेत्रमा गई भैँसी पूजा गरेको घटनाले त्यतिवेला राम्रै चर्चा पाएको थियो । २० वर्षसम्म हिन्दूहरूको चाड भन्दै दशैँमा टीका नलगाएका प्रचण्डले यो वर्षको दशैँमा टीका–जमरा लगाउँदा पनि विभिन्न प्रतिक्रिया सुनिए । त्यसैगरी, झलनाथ खनालले प्रधानमन्त्री बनेलगत्तै कालो बोको काटेर बालुवाटार प्रवेश गर्दा पनि उनको आलोचना भएको थियो ।
कम्युनिष्टहरू बाहिर कतिसम्म ढोंग देखाउँछन् र भित्रभित्रै केसम्म गर्न पनि पछि पर्दैनन् भन्ने यी प्रतिनिधि उदाहरण हुन् । माओवादीका नेता एवं वर्तमान विनाविभागीय मन्त्री कृष्णबहादुर महराले इसाई पादरीसँग आशीर्वाद लिइरहेको फोटो त सामाजिक सञ्जालमा अहिले पनि यत्रतत्र देख्न पाइन्छ । इसाई मिसनकै जोडबलमा तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको विशेष सक्रियतामा नेपाललाई धर्म निरपेक्ष घोषणा गरिएको कुरा त कतै छिपेको विषय नै होइन । नेपाललाई इसाईकरण गर्ने हेतुले पछिल्लो समय नेपालमा वाम एकता गरिएको भनेर कतिपय विश्लेषकहरूले बताएको कुरा पुष्टि हुँदै गएको छ ।
वाम एकता घोषणाको केही दिनपछि राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले हरेकपलसँग कुराकानी गर्दै नेपालका कम्युनिष्टहरूलाई बाह्यशक्तिले मिलाएको बताएका थिए । वामपन्थी गठजोडमा युरोपियन युनियन र भारतीय केही नेताको भूमिकाले काम गरेको उनको ठोकुवा थियो ।
हरेकपलसँगको कुराकानीमा सुवेदीले भनेका थिए– ‘अहिलेको अवस्थामा प्रचार साम्राज्य, इसाई मिसन र आइएनजिओको हावीलाई मात्रै रोकिदिए एमाले सकिन्छ ।’ सुवास नेम्वाङ इसाईमिसनको सहयोगमा एमालेको उपनेता बनेको प्रसंग झिक्दै उनले भनेका थिए– ‘पूर्वसभामुख एवं एमाले पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पदबाट हटाएर धर्मनिरपेक्षको पुनर्विचारको कुरा मात्रै उठाउने हो भने मात्रै पनि एमाले पत्तासाफ नै हुन्छ ।’
सुवेदीको विश्लेषणलाई नै पुष्टि गर्नेगरी केही दिनअघि ‘राष्ट्रिय इसाई समाज एकता केन्द्र नेपाल’को नाममा आएको विज्ञप्तिले वाम एकता गर्नेहरूको असली नियत छर्लंगिएको छ । गत कात्तिक ८ गते सो संस्थाका पूर्वमहासचिव रामप्रसाद न्यौपानेद्वारा प्रेषित विज्ञप्तिमा आगामी निर्वाचनमा वामगठबन्धनमा मतदान गर्न देशभरका चर्च र पादरीहरूलाई अपिल गरिएको छ ।
यो घटनाले नेपालको सनातन धर्म र लोकतन्त्रलाई नै मास्ने धेयका साथ इसाई मिसिनरीहरूको योजनामा वाम गठबन्धन गरिएको पुष्टि भएको छ ।
यसैबीच, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा अब लोकतन्त्रको पहरेदार नेपाली कांग्रेस मात्र रहेकाले सोही कुरा जनतामा बुझाएर कांग्रेसका लागि मत माग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । त्यसैगरी, राजधानीको एक कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले कांग्रेसलाई सिध्याउन खोज्नेहरू आफैँ सिद्धिएर इतिहासको पानामा सीमित भएको बताएका छन् । उनले भने, ‘२००७ सालअघि राणाहरू कांग्रेस सिद्ध्याउन लागे, उनीहरू आफैँ सकिए, ०१५ सालपछि पञ्चहरू कांग्रेस सिद्ध्याउन लागे, उनीहरू पनि सकिए, त्यसैगरी २०४७ सालपछि राजाले कांग्रेस सिद्ध्याउन विभिन्न खेल खेले, कालान्तरमा उनी पनि आफैँ सिद्धिए ।’ अहिले कांग्रेसलाई सिद्ध्याउन वाम एकता गर्नेहरू पनि आफैँ सकिएर इतिहासको पानामा सीमित हुने उनको दाबी थियो ।
नेपाललाई इसाईकरण गर्ने उद्देश्यका साथ कम्युनिष्टहरू हिन्दू धर्म र लोकतन्त्रको विरुद्धमा लागेका कारण अब लोकतान्त्रिक शक्तिहरू एकजुट भएर अघि बढ्नुको विकल्प नभएको कतिपय विश्लेषकहरूको भनाइ छ । लोकतान्त्रिक शक्ति एक भएर निर्वाचनमा गएमा उनीहरूलाई विजयी बन्नबाट कुनै पनि शक्तिले रोक्न नसक्ने उनीहरूको दावी छ ।