

काठमाडौँ, २३असोज।नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिएको छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सबै भूभाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार अरु भूभागबाट पनि केही दिनभित्र मनसुन बाहिरिनेछ । यो वर्षदेखि मनसुनको बहिर्गमन औसत मिति अक्टोबर २ भनिएको छ । निर्धारित मितिभन्दा ६ दिन ढिलो मनसुन बाहिरिन सुरु गरेको हो । गत जुन १३ अर्थात जेठ ३० गते मनसुन नेपाल प्रवेश गरेको थियो । सामान्यतया नेपालमा पूर्वी भूभागबाट प्रवेश गर्ने मनसुन मध्य क्षेत्र हुँदै पश्चिमसम्म फैलिन्छ । झण्डै चार महिनासम्म रहने मनसुन पश्चिमबाट मध्य क्षेत्र हुँदै पूर्वबाट नै बाहिरिन्छ । यो वर्षको मनसुनजन्य घटनामा परेर १ सय ३६ जनाको मृत्यु भएको छ भने ४५ जना बेपत्ता हुँदा १ सय ४४ जना घाइते भएका विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन केन्द्रले जनाएको छ ।
यसैबीच नेपालबाट मनसुन बाहिरिन सुरु भएसँगै तत्काल पानी पर्ने कुनै प्रणाली सक्रिय नभएकाले अबको केही दिन ठूलो पानी कतै पनि नपर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर, ठूलो पानी भने कतै पनि नपर्ने उहाँको भनाइ छ ।