प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आज रातीदेखि सरकारी खर्च रोकिने

प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आज रातीदेखि सरकारी खर्च रोकिने

काठमाडौँ, ३० भदौ।प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आजरातीदेखि सरकारी खर्च रोकिने भएको छ ।

संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ । अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश ३ साउनमा संसदमा पेश भएको थियो । बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्थाअनुसार आज राति देखि विद्येयक पारित गर्ने समयावधि सकिँदैछ । तर संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । समयमै विधेयक पारित हुन नसकेपछि सरकारी खर्च रोकिए पनि कर भने उठ्ने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।

हिजो संसद बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा केही दिन सरकारी खर्च रोकिन सक्ने तर ठूलो असर नपर्ने बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले भने बजेट प्रतिस्थापन विधेयक संसद्मा पारित नहुँदा आउने कानुनी जटिलताले सरकारी खर्च गर्न नरोकिने बताउनुभएको छ । हिजो संसद् भवनबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग संक्षिप्त प्रतिक्रिया व्यक्त गर्दै हिजो जसरी खर्च भएको थियो त्यसैगरी हुने बताउनुभयो ।

तर हिजो बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभा बैठकको बहुमतले स्वीकृत गरेको घोषणा गर्नु भएको होे ।