श्री राधा माधव समिति नेपालद्वारा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम

श्री राधा माधव समिति नेपालद्वारा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम

काठमाडौं । श्री राधा माधव समिति नेपाल र यसको भगिनी संस्था डिभाईन युथ क्लव नेपाल (डिवाईसिएन) को संयुक्त आयोजनामा मानसिक स्वास्थ्य परामर्श विषयक श्रव्य दृश्य (भर्चुअल ) परामर्श कार्यक्रम हालै सम्पन्न भयो । उक्त कार्यक्रममा अमेरिकाको Saint Agnes Hospital, Baltimore, Maryland, USA  मा कार्यरत विशेषज्ञ न्यूरोसाईक्याट्रिक मनोचिकित्शक डा मनोज रेग्मीले विशेषः प्रस्तुती दिनुभएको थियो ।

मानसिक स्वास्थ्यका विविध आयामहरु समेटिएको प्रत्यक्ष मौखिक तथा च्याटवक्सबाट लिखित प्रश्नोत्तर विधिमा संचालित उक्त कार्यक्रममा प्रस्तोता विशेषज्ञ चिकित्शकले दर्जनौ सहभागीका विभिन्न समस्या र समाधानका उपायहरु सुझाउनुभएको थियो ।

सो अवसरमा मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्यको महत्वपूर्ण आधार रहेको वताउंदै शारीरिक स्वास्थ्यमा हातको सफाईमा ध्यान दिएजस्तै मानसिक स्वस्थताका लागि मनलाई प्रदुषित गराउने नकारात्मक भावलाई सकारात्मक भावले धुने ,भावनात्मक सन्तुलनका निम्ति दैनिकीको कार्यतालिका बनाउने , हरेक दिन कुनै न कुनै परोपकारी कार्यमा आफूलाई सरिक गराउने ,आध्यात्मिक चिन्तन गर्ने , आफूलाई प्राप्त जीवन र प्राप्त सुविधाहरुप्रति आभार प्रकट गर्ने , शारिरिक अभ्यास ,योगाभ्यास प्राणायाम गर्ने , येनकेनप्रकारेण मनलाई एक आस्थापून्ज तथा भरोसाको आधारमा अड्काएर मनलाई वहकिनबाट जोगाउने जस्ता उपायहरु प्रभावकारी हुने , यी उपायहरुले मानसिक स्वास्थ्य सवल बनाउन सशक्त खोपको काम गर्ने वताउनुभयो । यस वैश्विक महामारीमा विविध कारणबाट मानसिक समस्या झेलिरहेका जो कोही नेपालीले जहांकहींबाट divineyouthclubnepal@gmail.com मार्फत समस्या प्रेषित गरि विशेषज्ञ चिकित्शकबाट परामर्श सेवा पाउने व्यवस्था मिलाईएको छ । प्राप्त जिज्ञाशा र जवाफ गोप्य रहने छन् ।

डिवाइसि नेपालका सुयशा खड्का,डिवाईसि नेपाल मेडिकल टिमका सदस्यद्वय डा.अमित श्रेष्ठ र डा.सुदिप चन्द्र सुवेदीको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा नेपाल, भारत ,अमेरिका ,अष्ट्रेलियाबाट ३०० बढी र फेसबुक लाईभमार्फत सयौ महानुभावहरुको सहभागिता थियो । श्री राधा माधव समिति नेपालका केन्द्रीय तथा प्रादेशिक पदाधिकारीहरु ,डिवाईसि नेपालका सदस्यहरुको भर्चुअल सहभागिता रहेको उक्त कार्यक्रममा श्री राधा माधव समिति नेपाल सम्वध्द विद्वत समाज नेपालका पूर्व अध्यक्ष घनेन्द्र पुरुष ढकालले डिवाईसि नेपालले समाजसेवा र अध्यात्म क्षेत्रमा पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रयास गर्दै आगामी दिनमा देशकै उदाहरणीय नेतृत्वदायी युवा संघको रुपमा स्थापित हुन यस क्लवलाई सफलता मिलोस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो ।

उक्त कार्यक्रममा जगद्गुरु श्री कृपालु जी महाराजद्वारा प्रणीत सुमधुर पद एवं रसमय संकीर्तनकी साधिका एवं श्री राधा माधव समिति नेपालका अध्यक्ष आदरणिय संगीता दिदीद्वारा मानसिक स्वास्थ्य प्रवध्र्दनको निम्ति अत्यन्त उपयोगी रुपध्यान साधनाको श्रव्य दृश्य रेकर्ड प्रस्तुत गरिएको थियो । जगद्गुरु श्री कृपालुजी महाराजको असीम अनुकम्पा र सत्प्रेरणाबाट उहांका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजीको सक्रियतामा संस्थापित श्री राधा माधव समिति नेपाल र यससम्वध्द डिवाईसि नेपाल स्थापना यता निरन्तर सामाजिक सेवा र आध्यात्मिक जागरणमा क्रियाशील रहंदै आएका छन् ।