दिपक गुरुङ, कास्की कांग्रेसका नेता
अन्नपूर्ण हिमालको दक्षिणस्थित कास्की भौगोलिक बनावटका दृष्टिले जति भिन्नता छ, त्यति नै राजनीतिक दृष्टिले विभिन्नता पाइन्छ । दक्षिणमा ४५० मिटरको उचाइदेखि उत्तरमा ७,९३९ (अन्नपूर्ण दोस्रो चुचुरो) मिटरसम्मका होचा–अग्ला भागहरू कास्कीमा छन् । त्यस्तै काँग्रेस, नेकपा, जनमोर्चा, साझा पार्टीदेखि जनमानसले नामै नसुनेका दलहरू पनि कास्कीमा क्रियाशील छन् । नेपाली कांग्रेस महासमिति सदस्य दिपक गुरुङ गण्डकी प्रदेशको सदरमुकाम पोखरामा २०२६ सालदेखि बसोबास गर्दै आएका छन् । पोखरा, जहाँ प्रकृतिले दिल खोलेर चित्ताकर्षक दृश्यहरू प्रदान गरेको छ । नेपाली, संस्कृत र अंग्रेजी भाषमा धारा प्रवाह भाषण गर्न सक्ने गुरुङसँग आज हामीले अहिलेको केन्द्रीय राजनीतिक र कास्की कांग्रेसकोे विषयमा केन्द्रीत रहेर कुराकानी गरेका छौं :
० प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि एक खालको राजनीतिक तरंग आएको छ, राजनीतिक रूपमा यसलाई कसरी तपाई विश्लेषण गर्नु भएको छ ?
– मुख्य कुरा त वैचारिक धार नै हो । कुन स्कुलिङबाट आएको छ, कुन दर्शन समातेर अगाडि बढेको छ भन्ने कुराले धेरै कुरा निर्धारण गरेको हुन्छ । कम्युनिस्टहरूले आदर्शको कुरा गर्छन्, व्यवहार त्यसअनुरूप गर्दैनन् । सिद्धान्त सबै राम्रै हुन्छन्, तर कस्तो व्यवहार गर्छ र कस्तो आचरणमा बस्छ त्यो नै मुख्य कुरा हो भन्ने मलाई लाग्छ । प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल सबैको आचरण नेपाली जनताले बुभ्mने अवसर पाए । सिद्धान्त र व्यवहारमा आएको भिन्नता तौलने मौका पाए । नेपाली कांग्रेसमा त्यो घीनलाग्दो अवस्था कहिल्यै आएन । नेपाली कांग्रेस पनि विभाजित भएर कांग्रेस प्रजातान्त्रिक भयो, तर नेताहरूविरुद्ध अशिष्ट ढंगले गालीगलौज भएन । काँग्रेसमा अनुभवको परिपक्वता देखियो ।
० सर्वोच्च अदालतको फैसला त कुर्नुपर्ला नि होइन र ?
– हो, नेपाली कांग्रेस सर्वोच्चको फैसलालाई सम्मान गर्ने पार्टी हो । अदालतको आदेशको कांग्रेसले सधंै सम्मान गर्दै आएको छ । विभिन्न अधिवक्ताले हाल्नुभएको रिटमा पर्सि २२ गतेदेखि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्च अदालत बार एसोसिएसनले संसद् विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले मागेको एमिकस क्युरीका लागि नाम पठाइसकेको छ । मलाई लाग्छ, एक डेढ महिनामा अदालतको निर्णय आउँछ, आउनु पनि पर्छ । हामीले धेरै कुर्नु पर्दैन । राजनीतिक रूपमा भन्ने हो चुनावकै पक्षमा फैसला आउने बुझिन्छ । निर्वाचन आयोगले आप्mनो काम सुरु गरिसक्यो ।
सँगसँगै के पनि हो भने हिजोको परिस्थितिमा व्यापक परिवर्तन आएको छ । पुस ५ गते करिब दुई तिहाइ बहुमत पाएको नेकपा नेतृत्वको सरकारले आपूmले पाएको जनमतको सम्मान गर्न सकेन । र, संसद् विघटनको सिफारिस ग¥यो । यो नेपालको राजनीतिमा देखिएको दुर्भाग्यपूर्ण अबस्था हो । त्यही दिन अर्थात् ५ गते नै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको सिफारिसलाई सदर गरिन् । अहिले यो मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजालसमा विचाराधीन छ ।
० स्थानीय (कास्की) जनताको अभिमत कस्तो पाउनु भएको छ ?
– नेकपाका मतदाता निराश छन्, म कांग्रेस नेता, कार्यकर्ता जे भन्नुस्, भएर भनेको होइन । पार्टी विभाजित भएपछि उनीहरू निराश छन्, कम्युनिस्ट पार्टीको दुई पक्षको विभाजनपछि भनाभन, भैmझगडा देखेर उनीहरूका समर्थकहरू, मतदाताहरु पनि कम्युनिष्ट पार्टीलाई गाली गर्न थालेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले नेकपालाई मिलाउन खोजेको समाचार आएको थियो, उनीहरू निराश भएर रित्तो हात फर्कि सकेका छन् । एकीकरण गराउन सकेनन् ।
० नेकपा विभाजनको लाभ कांग्रेसले लिन खोजेको हो त ?
– होइन, मुलुक मध्यावधिमा जानुमा नेपाली कांग्रेसको कुनै भूमिका छैन । कम्युनिस्टहरूको दुई तिहाइ मत थियो । बीपी कोइरालापछिको शक्तिशाली सरकार हो यो । उनीहरूभित्रको झगडाले यो स्थिति आएको हो । मतका आधारमा भन्ने हो भने पहिले–पहिलेभन्दा कांग्रेसले बढी नै मत ल्याएको छ । एमाले र माओवादीले संयुक्त उम्मेदवार उठाएकाले मत कम देखिएको हो । एक्लाएक्लै तीन पार्टी उठेको भए नेपाली कांग्रेसले सम्मानित सिट संख्या ल्याउने अवस्था थियो । नेपाली जनताले एक पटक कम्युनिष्टहरु मिलेर आएका छन्, हेरौं न त भनेर सरकार बनाउने म्याण्डेट दिएका हुन् ।
० नेपाली कांग्रेसभित्रको आन्तरिक मामिला कम्युनिस्टको जस्तो छैन र, यस विषयमा तपाई के भन्नु हुन्छ ?
– दलीय व्यवस्थामा प्रतिस्पर्धी समूहहरू हुन्छन्, त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । पार्टी नेतृत्वले लचकताकासाथ व्यवस्थापन गर्नुपर्छ । २००३ माघ १२ देखि १५ गतेसम्म कोलकातामा भएको नेपाली राष्ट्रिय कांग्रेस गठन गरेको हो । त्यस्तो कठिन घडीमा गठन भएको पार्टीलाई गाह्रो साँघुरो त प¥यो होला नि । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह आफै लडाइँको मैदानमा नेतृत्व गर्नुभएको इतिहास छ । २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन, २०६२–६३ को जनयुद्ध र जनआन्दोलनको प्mयुजन भएर नेपालमा गणतन्त्र आएको हो नि । यत्रो अनुभव भएको नेपालमा अर्को पार्टी छैन भन्ने मेरो दाबी छ । यी सबै क्रान्ति वा जनआन्दोलनको नेतृत्व नेपाली कांग्रेसले नै गरेको हो । त्यसैले भावना मात्र भएर पनि हुँदैन, भावनामा व्यावहारिकता पनि मिसाउनुपर्छ ।
० कास्कीमा कांग्रेस र नेकपालगायत दलहरूको अवस्था कस्तो छ ?
– जनतामा दलहरूप्रति विश्वास टुट्दै गएको हो कि झै देखिन्छ । मूलतः नेपाली कांग्रेस, नेकपा, राप्रपा, जनमोर्चालगायतका राजनीति दलहरू क्रियाशील छन् । मुलुककाप्रति नेपाली कांग्रेस नै जिम्मेवार छ कि भन्न थालेका छन् जनताहरू । नेसनल मिडियाको पनि चुनावी माहोल बनाउन र चुनावमा प्रभाव पार्न महत्वपूर्ण भूमिका हुन्छ । त्यसकारण बीपी कोइरालाले अखबारलाई राज्यको चौथो अंगको मान्यता दिनुभएको हो, आर्थिक स्रोतको जोहो गरिदिनु भएको हो नि । त्यसैले देशको पक्षमा विचार, विश्लेषण गर्नु पर्छ, लेख्नु पर्छ ।
० नेपाली कांग्रेसमा शुद्धीकरण हुने सम्भावना कति देख्नुभएको छ ?
– नेपाली कांग्रेसमा चेत पलाएको हुनुपर्छ । शुद्धीकरण क्रमशः हुने कुरा हो, एकैपटक हुने होइन । तर निषेधको राजनीति गरिनु हुन्न । पजेरोको विरोध गरेकै कारण विदुर पौडल जस्ता बौद्धिक व्यक्तित्वलाई पार्टीभित्र टिक्न दिइएन । पार्टीभित्र मौलाएको मुड्कीवादको विरोध गरेकै कारण प्रदीप गिरिको आवाजलाई निस्तेज पारिएको छ । सहमत वा असहमत सिद्धान्त, विचार र व्यवहारका आधारमा हुने हो । ज्ञानका आधारमा निर्णय लिन सक्नु प¥यो भन्ने मेरो मान्यता छ ।
० तपाई पार्टीको कुन कुन जिम्मेवारीमा हुनुहुन्छ ?
– महासमिति सदस्य छु । पार्टी सभापति कृष्ण केसीजीले उपसभापति बनाउँछु भन्नुभएको थियो । तर मेरो आफ्नै मान्यता छ, एक व्यक्ति एक पद । सर्वसाधारण जनताले मलाई माया गर्नुभएको छ । कार्यक्रमहरूमा बोलाउनु हुन्छ, त्यति माया भए पुगेको छ । दलहरूभित्र प्रजातान्त्रिक अभ्यास कमजोर भयो भने बहुदलीय व्यवस्था अधिनायकवादमा परिणत हुन सक्छ । अहिले अधिनायकवाद हावी हुन लागेको अवस्था हो । पद महत्वपूर्ण होइन, पदमा बस्दा कस्तो इमेज बनायो त्यो महत्वपूर्ण हो ।
० प्रतिनिधिसभाको चुनाव लड्ने तयारी छैन ?
– एउटा आदर्शले राजनीतिमा लागियो, स्कुल, कलेजको उमेरदेखि नै सक्रिय राजनीतिमा लागियो । मलाई कुनै त्यस्तो पद र पैसाको प्रलोभन छैन । तर अवसर आयो भने चुनाव नलड्ने भन्ने कुरा पनि हुँदैन । हामी बाह्रै महिना राजनीतिक फिल्डमा खटिने मान्छेलाई केको तयारी आवश्यक पर्छ र ? हामी त जहिल्यै गाउँमै, घरघरमै हुन्छौं । दृष्टिकोणमा मेरो तयारी छ । म प्रतिनिधिसभाको सांसद भए भने यसो यसो गर्छु भन्ने स्पष्ट खाका तयार छ । अहिले नै सबै कुरा नखोलौं होला । दीर्घकालिक प्रभाव पार्ने काम गर्ने मेरो उद्देश्य छ । उदाहरणका लागि चीनको ग्रेटवाललाई हेरौं, वार्षिक एक करोडले ग्रेटवाल भिजिट गर्छन् । टिकट मात्र बेचेर करोडौं युआन पाउँछ चिनियाँ सरकारले । मैले सुनेको गलत होइन भने सिंगापुरले मन्त्री बनाउँदा कति संख्यामा रोजगारी सिर्जना गर्न सक्छ भन्ने कुरालाई आधार बनाउँछ । हरेक कुरालाई मुलुकको आर्थिक समृद्धिसँग जोड्नुपर्ने हुन्छ ।
याे सामाग्री तरुण साप्ताहिकबाट