मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ – चन्द्रप्रकाश बानियाँ

मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ –  चन्द्रप्रकाश बानियाँ

म्याग्दी, ९ असोज ।इतिहासका जानकार तथा लेखक चन्द्रप्रकाश बानियाँले तत्कालीन पर्वत राज्यको विषयवस्तुलाई आधार बनाएर लेख्नुभएको ‘महारानी’ उपन्यासले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेपछि अहिले साहित्यकार बानियाँको चर्चा चुलिएको छ । बानियाँले यसअघि ‘ऐतिहासिक पर्वत राज्य’, ‘खस जाति र कूलपूजा’ र ‘मृत्यु संस्कार मन्थन’ गरी तीन कृति प्रकाशित गरिसक्नुभएको छ । उपन्यास लेख्दाको पृष्ठभूमि, मदन पुरस्कार प्राप्त गरेपछिको अनुभूति र आगामी योजनाका बारेमा राससका लागि म्याग्दी संवाददाता धु्रवसागर शर्माले लिनुभएको अन्तर्वार्ताको अंश :

२०७६ सालको मदन पुरस्कार तपाईँको उपन्यास ‘महारानी’ले प्राप्त गरेकोमा हार्दिक बधाई । देशकै प्रतिष्ठित पुरस्कार पाउँदा कस्तो अनुभूति गर्नुभएको छ ?

प्राप्ति आफैँमा सुखकारक विषय हो । त्यसमा पनि अनपेक्षित उपलब्धि हासिल हुनु थप आनन्दको विषय हुने नै भो तर मलाई भने उपलब्धिभन्दा मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर लागिरहेको छ ।

त्यस्तो अनुभूतिको कारण के होला ?

लेख्ने कोसिस त गर्दै आएको छु । भविष्यमा पनि प्रयत्न निरन्तर रहने छ तर आफ्नै लेखनशील्पसँग सन्तुष्ट हुन सकिएको छैन । मेरो भावना र मेरो जानकारीको संयोजन गरेर सुन्दर रचना गर्न मेरो कलमले सक्तैन । मेरो त्यही अनुभूतिले मदन पुरस्कार प्राप्त लेखकको गरिमा गौरव थाम्न सकिन्न कि भन्ने लाग्ने हो । त्यसमाथि थप म अलि अल्छी पनि छु । घुमफिर गर्न रुच्दैन । अन्तक्र्रिया र संवाद गर्ने बानी पनि छैन ।

उपन्यासमा कलम चलाउने र त्यो पनि ऐतिहासिक विषयवस्तु छान्नु पछाडिको कारण के थियो ?

उपन्यासमा कलम यसअघि पनि चलाउने कोसिस गर्थेँ । दुर्घटनावश ती लेखोट पाठकका हातसम्म पुग्ने अवसर नपाइकनै मृत्युवरण गर्ने दुर्नियतिको शिकार भए । जहाँसम्म पर्वतको इतिहासलाई विषय बनाउनुको कारण के थियो भन्ने प्रश्न हो त्यससँग मेरो निजी भावना पनि गाँसिएको छ । चौबीसे राज्य पर्वतको समाजमा ‘आठ हजारका राजा, बाह्र हजारका बानियाँ’ भन्ने लोक कथन जीवित छ । त्यो भनेको तत्कालीन मल्ल राजवंशले आर्जन गरेको आठ हजारमा बानियाँको पाखुरीले १२ हजार घरधुरी थपेको भन्ने अर्थ लाग्छ । अर्थात् तत्कालीन पर्वत राज्यको निर्माणमा मेरा पुर्खाको रगत पसिना भिजेको थियो । दुर्भाग्यवश पवर्तको त्यो इतिहास लेखिएन । पर्वत राज्यको अस्तित्व मेटिए पनि म त्यही माटोमा जन्मे हुर्केको मान्छे हुँ । पुर्खाको त्यो माटो, त्यो इतिहासप्रति मेरो मनमा अगाध श्रद्धा र गौरव छ । त्यसैैले त्यही इतिहास उधिन्नका लागि पनि विषय चुनिएको हो । अर्को कुरा तथ्य प्रमाणले पुष्टि गर्न नसकिने लोक कथनमा बाँचेको इतिहास लिपिबद्ध गर्ने समाजसमक्ष गरेको वाचा पूरा गर्न पनि यो विषय रोजेको हुँ । अर्थात् यो लेखन आवश्यकताको उपज हो ।

उपन्यासमा आन्तरिक सत्ता सङ्घर्ष, अरन्तरदेशीय षड्यन्त्र, द्वन्द्व र त्यसैमा घुनझैँ पिसिएकी राजकुमारीको कथा छ । उपन्यासमा परेका ती घटनावली सत्य हुन् ?

तथ्यद्वारा प्रमाणित गर्न सकिने घटना हुन्थे भने इतिहासमै लेखिन्थे । उपन्यास सिर्जना गर्नुपर्ने आवश्यकतै पर्दैनथ्यो । ‘महारानी’ ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास हो । सम्पूर्ण इतिहास होइन । सत्य कुरा कति मात्रै हो भने घनश्याम मल्लका दुई विमातृक भाइबीच सत्ता सङ्घर्ष चलेको र दाइद्वारा भाइको हत्या भएको कुरा सत्य हो भद्रिवमको हत्यापछि उनकी रानी वेपत्ता भएको वा पारिएको कुरा पनि सत्य हो । तर त्यो घटनाको प्रत्यक्ष साक्षी छैन र विश्वसनीय भौतिक साक्षी पनि उपलब्ध छैन । त्यही अन्धकारमा रहेको इतिहासको पाटो अर्थात् खाली ठाउँ भर्न कथानकको रचना गरिएको हो ।

त्यसो हो भने ‘महारानी’ उपन्यासलाई पाठकले कसरी बुझ्दा ठिक होला त ?

माथि नै भनिसकेको छु कि समाजमा लोककथनका रूपमा बाँचेको कथा गाथाहरु ऐतिहासिक घटना नै हुन् । समयक्रममा सत्य कुरा कुना पर्दै गयो र त्यसमा अनेक नयाँ फूलबुट्टा थपिए, भरिए । सत्य इतिहास भ्रमपूर्ण कथाको छाँयामा विलुप्त भयो । ‘महारानी’ उपन्यासले त्यही भ्रमको थुप्रोबाट इतिहास उधिनेर बाहिर निकाल्ने कोसिस गरेको हो । त्यसैले उपन्यासको प्रारम्भमै यो ‘इतिहास पुनर्लेखनको प्रयत्न हो’ भनिएको हो ।

उपन्यासमा वर्णित घटनाजस्तो अपेक्षाकृत कम उमेरकी विश्वप्रभामा रहेको असाधारण त्यागको भावना, घनश्याममा रहेको न्यायप्रियता र सुमन्तको विज्ञता जस्ता विषयहरु पाठकका लागि अलिक अस्वाभाविक लाग्लान् कि भन्ने लागेन ?

मानिसको योग्यता, क्षमता र भावनाको मापदण्ड उमेर हुने होइन । कैयौँ मानिसमा असाधारण प्रतिभा हुन्छ । उपन्यासमा वर्णित पात्रहरुको चरित्र अस्वाभाविक जस्तो देखिएको प्रतिक्रिया कतैबाट आएको छैन । स्वभावतः परिस्थितिअनुसार चरित्रमा अलिकता रङरोगन गरिनु अस्वााविक मानिन्छ जस्तो लाग्दैन ।

उपन्यासमा ‘डोली दिने’ प्रथाको चर्चा गरिएको छ । त्यो परम्परा यथार्थ हो कि काल्पनिक ? यथार्थ हो भने यतिखेर किन प्रचलनमा छैन ? कुनै ऐन कानूनद्वारा राज्यले हटाएको पनि देखिँदैन त ?

डोली दिने प्रथा खास गरेर ठकुरी समाजमा रहेको परम्परा हो । त्यसको प्रत्यक्ष साक्षी मेरो पुस्ता छ । त्यो अनौठो विषय पनि होइन । उपयुक्त वरमा आँखा परेपछि जुनसुकै बाबुआमा आफ्नी छोरीको हात थमाउन उत्सुक रहन्छन् । प्रत्यक्ष परोक्ष त्यस्तो पहल हुन्छ । त्यही चलनको औपचारिक नामकरण ‘डोली दिने’ प्रथाको रूपमा भएको हो । ठकुरी समाजले नाम दिएको मात्र हो । अहिले पनि उमेर पुगेकी छोरीका निमित्त उपयुक्त वर खोज्ने चलन हाम्रो समाजमा विद्यमान छ । अर्को अर्थमा त्यो पनि डोली दिने प्रथाकै निरन्तरता हो ।

‘महारानी’ उपन्यास लेखिएपछि पर्वत राज्यको कथा समाप्त भयो कि त्यसको ‘सिक्वेल’ पनि रचना गर्ने आवश्यकता देख्नुभएको छ ?

ऐतिहासिक पर्वत राज्यको कथा ‘महारानी’ मा सम्पूर्ण समेटिएको छैन । कमसेकम पर्वत निर्माण, विस्तार विभाजनसम्मको कथा परेको छ । पर्वतमा मल्ल वंशले शासन गरेको ५०० वर्षमध्येको पछिल्लो झण्डै ३५० वर्षको इतिहास संक्षिप्तमा आएको छ । अझै करिब १५० वर्ष बाँकी रहन्छ । बाँकी इतिहास आउने गरी अर्को एउटा उपन्यास लेख्नुपर्ने आवश्यकता अनुभूत गरेको छु । परिणाम भविष्यको हातमा ।

ऐतिहासिक घटनावलीलाई उपन्यासको कथानकमा ढाल्न र समेट्न कत्तिको सजिलो वा अप्ठेरो अनुभव गर्नुभएको छ ?

लेख्नु सजिलो कुरा होइन । कमसेकम मलाई त्यस्तो लाग्दैन । जहाँसम्म ऐतिहासिक उपन्यास लेख्नु सामाजिक विषयवस्तुको उपन्यास लेख्नुजस्तो सजिलो कुरा होइन । घटना, समय, पात्र, विषयवस्तुको निश्चित घेरा र सीमा हुन्छ । निश्चिन्त भएर कल्पनामा मुक्त कलम चलाउन पाइँदैन । सामाजिक उपन्यास घरमै बसेर कल्पना गर्न सकिन्छ । ऐतिहासिक उपन्यासका लागि तथ्यको पनि ख्याल राख्नुपर्ने हुन्छ । सत्यको अन्वेषण अनिवार्य पाटो मानिन्छ ।

‘महारानी’ उपन्यास सिर्जना गर्दाका कठिनाइ के कस्ता रहे होलान् ?

पहिलो कुरा तत्कालीन खस भाषिकाको खोज गर्नुपर्ने आवश्यकता थियो । पर्वत राज्यकालका सीमित लेखोट उपलब्ध छन् । कैयौँ लेखोट ‘डिकोट’ गरिदिने विज्ञको आवश्यकता पर्छ । पाँच सय वर्षको लामो अवधिमा लेखिएका दुई दर्जनभन्दा बढी लेखोटबाट भाषाको नमूना निकाल्नु निकै गाह्रो काम हो । किनकि भाषा निरन्तर विकासशील हुन्छ, परिविर्तनशील हुन्छ । पाँचसय वर्षमा त भाषामा आनको तान फरक परिसक्छ । दुई सय वर्षमै भानुभक्तको रामायणमा प्रयुक्त भएको भाषीका पूर्णरूपमा विलोप भएको उदाहरण हाम्रा सामु साक्षी छ ।

दोस्रो कुरा तत्कालीन समाजका रीतिथति, परम्परा र संस्कार संस्कृति पहिल्याउनुपर्ने हुन्छ । इतिहासको एउटा तथ्य समातेर त्यसकालको वरिपरि कथा बुन्नुपर्छ । कथा लेखेर मात्रै पुग्दैन, त्यसलाई रुचिकर र विश्वसनीय पनि बनाउनुपर्छ ।

तेस्रो कुरा पर्वतको हकमा नलेखिएको इतिहासभित्र सत्य तथ्यको नजिक पुग्न स्थानीय समाजसँग मात्र होइन, भूगोलसँग पनि घनिभूत अन्तक्र्रिया गर्नुपर्ने हुन्छ, परिचय स्थापित गर्नुपर्छ । मेरो जन्म त्यही भूगोलमा भएको हुनाले अलिकता सुविधा रहने नै भो ।

भविष्यको साहित्यिक यात्राको योजना के कस्तो बनाउनु भएको छ ?

अवश्य । मदन पुरस्कारले मलाई थप घोटाउने नै भो जस्तो लागेको छ । मैले बुताले भ्याएसम्म लेख्ने छु । लेख्नै पर्छ । मेरो लेखन विषयको प्राथमिकतामा भने आफ्नै जन्मभूमि, आफ्नै माटो, आफ्नै समाज र आफ्नै इतिहास हुनेछ । मेरो समाजसँग गाँसिएका दुई÷चार वटा कथाहरु मेरो मनभित्र खेलिरहेका छन् । तीमध्ये प्राथमकिता कुन विषयलाई दिने भनेर निर्णय भने गरिसकेको छैन ।

‘महारानी’को प्रकाशनपछि पाठक प्रतिक्रिया कस्तो पाउनुभएको छ ? स्वाभाविकरुपमा अभिव्यक्त हुने सकारात्मक नकारात्मक पाठक प्रतिक्रियाले कस्तो अनुभूति गराउँदो रहेछ ?

लेखकका लागि पाठक प्रतिक्रिया प्रोत्साहनको विषय मात्रै होइन, सच्चिने सच्याउने अवसर पनि हो । लेखन तिखार्ने ओखती पनि हो । परिमार्जित लेखनको गुरु पनि हो मेरो दुर्भाग्य के रहिदियो भने आलोचनात्मक प्रतिक्रिया पटक्कै आएन ।रासस