के यही हो दण्डहीनताको नारा फलाक्ने नेकपा सरकारकाे कानुनी राज: सभापति श्रेष्ठ

के यही हो दण्डहीनताको नारा फलाक्ने नेकपा सरकारकाे कानुनी राज: सभापति श्रेष्ठ

गुल्मी, ७ असोज । नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले जति बाधा कष्ट परे पनि बर्बर राज्य आतङ्क नसहने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हजार घात खान तयार रहेको तर न्याय प्राप्तिको संङ्घर्षबाट विचलीत नहुने उल्लेख गरेका छन् । केही दिनअघि रेसुङ्गा नगरपालिका–१२ मा रहेको रानीपोखरी निमाविको भवन निर्माणका विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच विवाद उत्पन्न भएको थियो ।

विवादले चरम उत्कर्ष रुप लिएपछि नेकपाका कार्यकर्ताले कांग्रेसका कार्यकर्ता कुटपिट गरि घाइते बनाएका थिए । आफ्ना कार्यकर्ता कुटपिट गर्नेलाई किटानी सहित जाहेरी दिँदा पनि प्रहरीले कुटपिटमा संलग्नलाई कारबाही नगरेपछि कांग्रेसले आन्दोलन थालेको थियो । शान्तिपुर्ण रुपमा ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण के.सी लगायतका नेता, कार्यकर्ताहरु प्रहरीको दमनपछि घाइते भएका थिए ।

सबै शुभेच्छुक प्रजातन्त्र प्रेमीहरुको आर्शिवादले अहिले आफु स्वस्थ रहेको जानकारी दिँदै जतिबाधा कष्ट परे पनि बर्बर राज्य आतङ्क नसहने सभापति श्रेष्ठले बताए । उनले पीडक राज्य सत्ताको आडमा सुरक्षित हुने उल्लेख गर्दै कतिसम्म निर्लज्ज हुन सकेको सरकार ? भन्दै प्रश्न समेत गरेका छन् । भाद्र १९ गतेको घटनामा कसैको करङ्ग भाँचिने कसैको खुट्टा भाँचिने र पीडित रुदैँ न्याय प्राप्तिको गुहारमा प्रशासनमा धाउँने, अझ उल्टै पीडितका उपर काउन्टर जाहेरी दर्ता हुने यो कस्तो बिडम्बना ! के यही हो दण्डहीनताको नारा फलाक्ने कम्युनिष्ट सरकारको कानुनी राज भन्दै प्रतिप्रश्न गरेका छन् ।

उनले नेपाली कांग्रेस पार्टी र हाम्रो स्वास्थ्यको चिन्ता गरि विभिन्न माध्यमबाट स्वास्थ्य लाभको शुभेच्छा प्रकट गर्ने नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवा सहित केन्द्र देखि स्थानीयस्तरका नेता, कार्यकर्ता शुभेच्छुकहरुमा धन्यवाद दिएका छन् । सोही बिषयलाई समाधानका लागि मंगलबार भएको वार्तामा कांग्रेसका कार्यकर्ता कुटपिटमा संलग्नलाई कानुन अनुसार कारवाही गर्न गुल्मी प्रशासन सहमत भएपछि गुल्मी कांग्रेसले धर्ना तथा आन्दोलनको कार्यक्रम स्थगित गरेको छ ।