काङ्ग्रेसहरू हो ! बुझ, गणेशमान सिंह को थिए ?

  • 17
    Shares
काङ्ग्रेसहरू हो ! बुझ, गणेशमान सिंह को थिए ?

– नारायण कैलास सिग्देल-

नेपालमा जन्मेका विगतदेखि वर्तमानसम्मका नेतृत्व पंक्तिमा रहेका व्यक्तित्वहरूलाई राम्ररी केलाएर विश्लेषण गर्ने हो भने समय समयमा अद्वितीय युग पुरुषहरूले जन्म लिएका रहेछन् भन्ने कुरा वास्तविक रूपमै बुझ्न सकिन्छ। हाम्रा युग पुरुषहरू जस्तैः भीमसेन थापा, भक्ति थापा, बलभद्र कुँवर, पृथ्वीनारायण साह, गंगालाल, दशरथ चन्द, धर्मभक्त, शुक्रराज शास्त्री, विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह आदिजस्ता योद्धा एवं प्रजातन्त्रका महा-सेनानीहरूको नाम सुन्दा पनि उहाँहरू कत्तिको महान हुनुहुँदो रहेछ भन्ने कुरा सामान्य अड्कल गर्न सकिन्छ भने जब उहाँहरूको वास्तविक व्यक्तित्वलाई नजिकैबाट अगाल्ने, सच्चा एवं वास्तविक स्वरूपको प्रत्याभूति गराउनुकासाथै उहाँहरू उपर सयौपटक लेखिएका विभिन्न प्रकारका खोज, अनुसन्धान, लेख, रचना आदिहरूबाट छर्लङ्ग हुन्छ कि वास्तवमा उहाँहरू को हुनुहुन्थ्यो भन्ने। म ती सबै महामानवप्रति सदासर्वदा आभारी हुँदाहुँदै पनि आज मैले प्रजातन्त्रका लागि जिउ, ज्यान, परिवार र निजी सम्पत्तिको समेत कुनै लालसा नराखी राष्ट्रियता र प्रजातन्त्रका पक्षमा जीवन अर्पण गर्ने नेपाल आमाको एकमात्र महान सपुतको बारेमा केही लेख्ने जमर्को गर्दै छु।

नेपालको प्रजातन्त्रको लडाइको दौरानमा एका दुर्इ, यस्ता जब्बर महापुरुष एवं महाँ सेनानी छन् जसको नाम नलिँदा नेपालको प्रजातन्त्रको क्रान्तिकारी इतिहास नै अधुरो र अपाङ्ग हुन्छ। जसरी हातमा रहेको रुमालको धागो एक एक गरेर निकाल्दै जाने हो भने त्यहाँ रुमालै रहन्न त्यसरी नै हाम्रा आदरणीय प्रजातन्त्रका महाँ सेनानीहरूलाई यो वा तो नामको लाञ्छना लगाएर उहाँहरूको नाम सम्झने सिलसिलामा बेइमानी गरियो भने यथार्थमा हाम्रो प्रजातन्त्रको उत्सर्गको इतिहास एक प्रकारको मुर्कट्टा हुने कुरो निश्चित छ। त्यसैले क्रान्तिको अगुवाइ गर्ने सर्वोच्च कमाण्डरहरूको सफल नेतृत्वलाई ढाक छोप गर्ने दुस्साहास् गरियो भने सूर्यलाई नाङ्लो देखाएजस्तै हुने छ।

लेखक त्यही हो, जसले लेख्छ। वास्तविक लेखक त्यही हुन्छ जसले वास्तविक र आधारयुक्त कुराहरू व्यापक अध्ययन र तथ्यका भरमा मात्र लिपिबद्ध गराउने एउटा अटल पाटो रोज्छ भने त्यस्मा छरिएर रहेका विविध व्यक्तित्वहरूको भनाइलाई फिल्टर गरेर केन्द्रिकृत गर्ने अर्को एउटा चुनौतीपूर्ण कार्यलाई पनि सँगसगै लैजान चाहन्छ।

काङ्ग्रेसको सभामा भाषण सुनिरहेको एउटा मानिसले म पनि नेपाली काङ्ग्रेस हूँ भन्न सक्छ तर काङ्ग्रेसको सिद्धान्तको बारेमा भन्नुहोस् भन्ने हो भने उसको मुखबाट एउटा पनि शब्द ननिक्लन सक्छ र सायद अन्त्यमा भन्छन् होला ‘यसको बारेमा मलाई केही थाहा छैन, नेतालाई नै सोध्नुहोस्।’ यस् प्रकारको लाचारीपन हुनाको वास्तविक कारण भनेको नेताहरूको सर्वसाधारणप्रतिको निरन्तर प्रशिक्षणको कमी हो। आफ्नो दायित्वको बोध राम्ररी नभएर आफ्ना हिमायतीलाई यस बारेमा सुसूचित गर्नतिर ध्यान नदिनु हो। आफ्नो उत्तरदायित्वबाट पञ्छिनु हो। आफ्नो हैसियतको धरातललाई स्खलित गर्नु हो। रातौं दिन काङ्ग्रेसको आदर्शलाई आफ्नो जीवनको आदर्शसँग तुलना गर्नेले काङ्ग्रेसलाई नै नचिन्नु भनेको कतिसम्म लाजमर्दो अवस्था हो। एकातिर यस्तो अवस्था हुनु अर्कोतिर वर्तमान्मा नेपाली काङ्ग्रेसका नेताहरूसँग आफ्नो पार्टीको सिद्धान्त, मूल्य र मान्यतालाई लत्याएर हिड्नुले यसप्रकारको दुर्दशा भएको हो।

गणेशमान सिंह नेपालको प्रजातान्त्रिक लडाईंका ती वीर पुरुष हुन् जसले जनतासँगको सन्चारलाई सधैँ ताजा राख्न सांठनिक कार्यलाई अगाडि बढाउनको लागि राणाकालीन अत्यन्त सम्वेदनशील जेल पनि तोडेर बाहिर खुला हावामा निस्कन सफल भए। राणासाही कालरात्रिको युगमा दानवहरूको जंगी सरकारबाट २० फुट अग्लो पर्खालमाथि बिजुलीको नाङ्गा तारको करेन्ट पार गरी भाग्न सक्ने भीमसेनलाई वीरमात्र होइन महावीरको संज्ञा दिनुपर्छ।

भुपेन्द्रपुरुष ढकाल

मानिस सामजिक प्राणी हो। समाजमा बस्ने जो कोही मानिसको पनि सामाजिक आचरण एकदम राम्रो हुनुपर्छ। वर्तमान नेताहरूको सामाजिक आचरणको कतै छेकवार भएको पाइँदैन तर गणेशमानजी अत्यन्त संस्कारयुक्त, सुस्कृत व्यक्ति हुनु हुन्थ्यो। उहाँ कहिल्यै कसैलाई पनि अनादरयुक्त भाषा प्रयोग गर्नु हुन्नथ्यो। अल्लारे उमेरमा त्यसलाई लिएर उहाँको अवमूल्यन गर्ने हैसियत कसैले पनि राख्न हुँदैन तर सार्बजनिक जीवनमा प्रयोग गरेपछि त्यस्ता विकृति र अशोभनीय कार्य उहाँबाट टाढा रहेको कुरा इतिहास साक्षी छ।

राणाकालमा काजीको एकमात्र नातिको हैसियतले संसारिक आनन्दतिर लाग्नुको सट्टा ती सब परित्याग गरी काँडा र कष्टपूर्ण जीवनको बाटो समाउनु उहाँको ठूलो त्यागको परिचाय हो। अथाह शक्ति र सम् पत्तिका नाति आजीवन देश सेवाको सङ्ग्राममा होमिन’ भनेको ठूलो सेवाको भावको उदाहरण हो। एउटा महान पुरुष आफ्नो सम्पत्तिको संरक्षणमा होइन जनताको आथाह पीडाको साक्षी बस्छन् भने नेपाली काङ्ग्रेसका महान नेता भनाउँदाहरू ऐस आरामको जिन्दगी बिताउन र परस्पर द्वेष राखी सत्तासुखको तँछाड मछाडमा एकोहोरिएको कारण देश अधोगतितिर लागेको छ त्यस भयावह स्थितिबाट त्राण पाउन गणेशमानजीले काङ्ग्रेस पार्टीपरित्याग गर्नुभएको थियो।

सत्यनारायण श्रेष्ठ

गणेशमानजीका लागि पद र शत्ता र शक्तिले कहिल्यै पनि लोभ्याएन, बरु राणाहरूको बिरुद्धमा जहिले पनि खरो उत्रने गणेशमानजी तिनीहरूको विरुद्धमा यति खरो कुरागर्नु हुन्थ्यो कि सुन्नेवाला दर्शकहरू सबैको आङ जिरि· हुन्थ्यो। शेषराज दलीजी भन्नुहुन्छ-‘सानो छँदा हामी सधैँजसो गणेशमानका नयाँ नयाँ कर्तुतहरू सुन्थ्याैँ। ऊ बारम्बार आफ्नो सेफबाट पैसा चोर्दोरहेछ। चोर्नको लागि अनेक जुक्ति र तरिका अपनाउँदोरहेछ। एक दिन त दलिन झिकेर कोठाभित्र पसी फलामको अड्ढुशले सेफ फोडेर ५ सय रुपैयाँ डबल भएको पोको काठमाडौको घरबाट चोरेर कोलकातामा पढ्नु हुँदा उहाँको चेतनामा नयाँ आकाश खुल्यो रे। किनभने गंगालालको स·तबाट उहाँमा ठूलो परिवर्तन आएको कुरा कृष्णचन्द्रसिंह प्रधानले सुनेका रहेछन्।’

गणेशमानजी भन्ने गर्नुहुन्थ्यो-‘हामी राजनीतिमा लाग्दा खेरी कात्रो शिरमा बाँधेर लागेका हौं। राजनीति भनेको स्वतः प्राप्ति मात्रै होइन। राजनीति भनेको एउटा आन्दोलन हो र त्यसमा गुमाउुनु पनि पर्छ। यही नै उहाँको मान्यता थियो।’ तर आजकल राजनीतिमा लाग्नेहरू कोही पनि जोगी बन्न नआएको व्यक्त गर्दछन्। चाहे ठूला भनाउँदा राजनीतिज्ञ हुन् वा ससाना सबै मालामाल कमाउनको लागि राजनीतिकमा लागेको खुलेआम बिनालाज व्यक्त गर्छन्। उनीहरूको एकमात्र लक्ष प्रजातन्त्रलाई मेचुअर्ड बनाउनभन्दा पनि आफू सम्पत्तिमा अरुभन्दा मेचुअर्ड हुनु हो जसको लागि उनीहरू जस्तो सुकै नकारात्मक कार्यर्गर्न पनि उद्दत रहन्छन्। यसैको कारणले गर्दा होला गणेशमानजीको निधन पश्चात वर्तमान्मा कतिपय नेताहरू राष्ट्रको धिकुटीमा हात पसार्ने र देशलाई टाट पल्टाएर आफ्नो देशलाई सिक्किमीकरणउन्मुख बनाउनमा सुक्ष्मरूपले तानाबाना बुनिरहेको आभास आइरहेको छ।

गणेशमानजीले वर्तमान्का नेता भनाउँदाहरूले जस्तो घूस खाएर आफ्नो परिवारको निम्ति पैसा कमाउने काम कहिल्यै गर्नुभएन। उहाँको उदार स्वभाव सामुन्नेमा आएको कार्यकर्ताका समस्या र दुःख निवारण गर्न तुरुन्त अग्रसर हुने बानीको आडमा कसैले अनुचित फाइदा कुनै बेला उठाएका थियो नै भने पनि त्यसमा टिप्पणी गर्ने र चर्चा गर्नुको कुनै आवश्यकता छैन। उहाँलाई साम्प्रदायिक थिए भन्नु पनि उहाँमाथि अन्याय गर्नु हो। अर्को अर्थमा भन्नुपर्दा उहाँ लौहपुरुष नै हुनुहुन्थ्यो। लौह पुरुष भनेको फलामजत्तिकै जति गर्दा पनि नभाँचिने स्वभाव भएको व्यक्ति हो। जुन उहाँकै जीवनको हरेक मोडमा पुष्टि र प्रमाणित भएको छ। त्यसको व्याख्याको आवश्यकता छैन। त्यसैले उहाँलाई नेपाली काङ्ग्रेसमा २००७ सालदेखि नै लौह पुरुष भनिएको हो।

श्रीभद्र शर्मा

प्रजातन्त्रको प्राप्तको लागि जति दुःख गणेशमानसिंहले सहनुपरेको छ, त्याग र तपस्या गर्नुभएको छ, त्यति गर्ने मानिस नेपालमा मैले अर्को पाएको छैन। उहाँले त्याग गर्दा, दुःख, कष्ट सहँदा त्यसको फलको बारेमा कहिल्यै सोच्नुभएन। उहाँको ध्याउन्न नै कसरी क्रान्ति गर्ने र नेपालमा प्रजातन्त्र ल्याउने भन्ने थियो। क्रान्तिको सघाउ पुग्छ भने कोडीको पाउ मोल्न समेत उहाँ पछि पर्नुहुन्नथ्यो। पढेलेखेका युवाहरूप्रति आवश्यकताभन्दा बढी विश्वास र आकर्षणले गर्दा कहिलेकाहीँ उहाँ युवाहरूबाटै हेपिनुभएको पनि थियो। यसै प्रस·मा एक पटक डिल्लीरमण रेग्मीप्रति पनि घृणाजस्तै भएको थियो।

उहाँको राष्ट्रवादीता चीनसँग सगरमाथाको सवालमा लिनुभएको अडानबाट पुष्टि हुन्छ। मैले केही समय उहाँसँगै जेलमा सँगै बस्ने अवसर समेत पाएको थिएँ। उहाँ अत्यन्त अध्ययनशील हुनुहुन्थ्यो। उहाँको अध्ययनको प्रिय विषय इतिहास र त्यसपछि विश्वमा आफ्नो राष्टप्रति उर्त्र्सग भएका महान् सपुतहरूको जीवनी थियो।

हिराप्रसाद जोशी

उहाँ नेपालको राजनेता हुनु हुन्थ्यो। उहाँमा राजनेता हुने गुण नभएको भए सर्वोच्च नेता अथवा सर्वमान्य नेता नै हुन सक्नु हुन्नथ्यो। राजनेतामा चाहिने देश प्रेम समजप्रेम जस्ता गुण हुनु का साथै आफ्नो भन्ने केही नराख्ने बानीका हुनुभएकोले उहाँ सर्वमान्य कहलिनुभएको हो। उहाँ नेपालको अद्वितीय व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ अमेरिका जानुहुँदा नेपालको सर्वमान्य नेता भनेर तत्कालीन राष्ट्रपतिले भेट गरेका थिए। अमेरिकामा बोलाएर कुनै पनि नेपालीलाई जनताको सर्वोच्च नेता भनेको इतिहास अहिलेसम्म छैन। २००७ सालको क्रान्ति होस् वा २०४६ सालको आन्दोलनलाई उहाँले सर्वोच्च नेतृत्व प्रदान नगर्नुभएको भए प्रजातन्त्र नै आउने थिएन।

प्रेमबहादुर शाक्य

गणेशमानजी काठमाडौंबाट बन्दीपुरको बाटो भागेर भारत जाने सिलसिलामा एकजना हरि भन्ने व्यक्तिले भेटेर ठोरीतिर जाने सोझो बाटो देखाइदिएछन्। ठोरीमा उहाँलाई चिन्ने एकजना हवल्दारले खाना खाँदै गरेको बेलामा गिरफ्तार गरेको थियो रे अनि मोहनशम्शेरको आदेशमा उनलाई काठमाडौं ल्याउँदै गरेको खबर सुनेर हेर्न म उत्सुकपूर्वक मकवानपुरमा पर्खेर बसेँ। उहाँलाई खुट्टा, हात र गलामा डवल नेलकडी, हतकडी र गलबन्दी लगाएको थियो। टाउकोमा टोपी र खुट्टामा जुत्ता थिएन। त्यसबेला उहाँलाई गिरफ्तार गराइ दिने व्यत्तिलाई रु ५हजार रूपैया इनाम दिने घोषणा गरिएका थियो।

कोलकातामा अध्ययनरत रहदा गणेशमानजी पनि मार्क्सवादी विचारबाट प्रभावित हुनुहुन्थ्यो रे तर पछि धर्मभक्त र गंगालालले सम्झाएपछि मात्र गणेशमानसिंहले थाहा पाउनुभयो कि कम्युनिज्म भनेको पिंजडाको थुनिएको चराजस्तै हो। यो घटनापछि मात्र गणेशमानजीले शोभा भगवतीमा धर्मभक्त र गंगालालसँग देशको लागि मरिमेट्ने सपथ खानुभएको हो।

महेश्वरलाल श्रेष्ठ

उहाँ यति दानी हुनुहुन्थ्यो कि माग्न आउने जो कोहीलाई पनि खाली हात फर्काउनु हुँदैनथ्यो। आफूसँग भए आफूसँगैबाट र आफूसँग नभएमा साथीहरूसँग मागेर भए पनि दिने अचम्मको स्वभाव थियो उहाँमा। एक पटकको कुरा हो -तारे होटलमा गणेशमानजी भेटघाट गर्न जानुपर्ने भएकोले आफूले लगाएको झुत्रा र झाम्रे कपडाको ठाउँमा जुत्ता, ड्रेस नयाँ ल्याइ पहिरनमा एक कदम भव्य बनायौं। हामीले उहाँलाई भन्यौं- ‘गणेशमानजी यो ड्रेसचाहीँ कसैलाई नदिनू होला है, आफै लगाउनुहोला।’ त्यसको पाँच-सात दिनपछि कलकत्ताको एकदम व्यस्त र रमाइलो ठाउँ चौरंगीमा हामी हिँडिरहेका थियौं, टाढैबाट मैले देखेँ गणेशमानजी पनि घुमिरहनुभएको। मैले साथीहरूलाई भने र बडो उत्सुकतापूर्वक हामी छिटोछिटो हामी गणेशमानछेऊ पुग्यौँ। तर जसलाई हामीले देखेका थियौं उनी त गणेशमान कहाँ हुनु ? ती व्यक्ति त देवेन्द्रराज उपाध्याय पो रहेछन्। आफूलाई ५-७ दिन पहिले हालिदिएको नयाँ लुगाको पूरै सेट उहाँले देवेन्द्रलाई पो दिइसक्नुभएछ।

रामहरि जोशी

डायमनशमशेर राणा भन्नुहुन्छ -‘वीर गणेशमान भनेर पहिलो उच्चारण गर्ने व्यक्ति बीपी हुनुहुन्थ्यो। उहाँ अझै अगाडि भन्नुहुन्छ मेरो त बाजे जर्नेल, बाबु कर्नेल, म पनि आर्मी अफिसर थिएँ। २००७ सालको क्रान्ति हुनुअघि क्रान्तिलाई सहयोग गरेको आरोपमा पक्राउ परेँ। मलाई मृत्युदण्ड हुने कुरो भया भो। मृत्यु पर्खिएर बसिरहेको थिए। यो खबरले सिपाइहरूले व्रि्रोह गरे अनि मलाई मारिहाल्न सक्ने कुरा भएन।’

‘२००७ सालअघिको कुरामा जेलबाट गणेशमानजी भाग्नुभएको मलाई थाहा थियो। उहाँसँग भेट भएपछि ४० वर्षसम्म म उहाँको पछिपछि लागेँ। उहाँ मभन्दा धेरै वर्ष जेल बस्नुभयो। मत ६ वर्षमात्र बसेँ। ‘गणेशमानजी वीर हुनुहुन्थ्यो। उहाँको वीरत्व अतुलनीय छ।’ उहाँले काङ्ग्रेस छोडिदिनुभयो कि आफ्नो जीवनको सबैभन्दा ठूलो काम, प्रजातन्त्र पुनस्र्थापना, उहाँले गरिसक्नुभएको थियो। ‘उहाँको कमजोर पक्ष देखेको भनेको यही सवाल हो। एउटा बाह्रमासे जुवाडे अथवा जँड्याहा पनि स्वास्नीले खान पाइन अथवा छोराछोरीले स्कुलको फिस तिर्न सकेनन् भनेर उहाँका सामु पुग्दा त्यो फटाहा हो भन्ने जान्दाजान्दै पनि सहयोग गर्नुहुन्थ्यो।’

चित्तरञ्जन नेपाली भन्नुहुन्छ- ‘नेपालमा त उहाँसँग तुलनीय व्यक्ति म देख्दिनँ। अरु कसैसँग उहाँको तुलना गर्नु उपयुक्त हुन्छ जस्तो पनि मलाई लाग्दैन। जहाँसम्म सङ्र्घर्ष र नेतृत्वको निरन्तरता देखियो, त्यो अद्वितीय र अतुलनीय छ। त्यो नै उहाँको देन हो त्यसलाई कसैसँग तुलना गर्न सकिन्न। ‘१९९७ सालदेखि आजसम्म नेपाली जनआन्दोलनमा धेरै नेता आए, गए। सत्ताको शिखरमा पनि पुगे। यसबीच कति आफ्नो बाटोबाट विचलित भए। कति बाटो विराएर फेरि पुरानै बाटोमा फर्किए पनि। तर गणेशमानजी भने एक क्षण र एक निमेष पनि कहिल्यै आफ्नो पाइला डगमगाउनुभएन।’

अन्त्यमा म भन्न चाहन्छु ‘गणेशमानजीको जीवनको सबैभन्दा ठूलो काम २०४६ सालको जनआन्दोलनको सर्वमान्य नेतृत्वको थियो र सबैले देख्ने कुरो हो। तर मेरो दृष्टिमा त उहाँको सबैभन्दा ठूलो काम नै त्यागको अद्वितीय अनुकरणीय उदाहरण हो काङ्गे्रस परित्याग। उहाँले काङ्ग्रेसका अन्य नेताहरूलाई शिक्षा दिन खोज्नुभएको थियो एउटा सर्वोच्च नेताको रूपमा। तर एउटा यस्तो व्यक्ति जसले गर्दा मुलुकमा प्रजातन्त्र स्थापना भयो, त्यही नेतालाई काङ्ग्रेसले अपमान गर्‍यो। तर म भन्छु ‘न जय नेपाल, न लाल सलाम तर राष्ट्रकै सलाम।’

साभार: ‘इतिहास पुरुषहरूको दृष्टिमा गणेशमान सिंह’