राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरु

राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरु

भक्तपुर, २६ साउन । जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरु गरेको छ । जिप्रकाले आइतबार अपराह्न आयोजना गरेको शुभारम्भ कार्यक्रममा सांसद महेश बस्नेतको विवरण भरेर विवरण दर्ताको शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

सरकारले जिल्ला प्रशासन कार्यालय भक्तपुरलगायत ७७ जिल्लाबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरेर यस आर्थिक वर्षमा करिब एक करोड जनसङ्ख्याको विवरण दर्ता गर्ने लक्ष्य लिएको सांसद बस्नेतले जानकारी दिनुभयो । सरकारले तीन वर्षभित्र सम्पूर्ण नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा दुई बुथबाट विवरण दर्ता शुरु भएको छ । एक बुथबाट यही साउन ४ गतेदेखि श्ुरु भएको र अर्को बुथ आइतबारदेखि शुरु भएको हो । दुई बुथमा दुई कम्प्युटरलगायत आवश्यक उपकरण राखिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो । नागरिकता प्रमाणपत्र लिन आउनेले आवश्यक विवरण भरेर राष्ट्रिय परिचयपत्रका लागि निवेदन दिन सक्नेछन् ।

पञ्जीकरण विभागको सहकार्यमा जिल्लाका चारवटै नगरपालिका र वडा कार्यालयमार्फत सेवा सञ्चालन गरिने भएको छ । यसका लागि स्थानीय तहका वडाध्यक्ष, वडा सचिव र कर्मचारीलाई अभिमुखीकरण तालीम दिइएको जानकारी दिँदै उहाँले नगरपालिकाले छनोट गरेको व्यक्तिलाई रुजु अधिकारी तोकेर प्रत्येक वडा कार्यालयमार्फत विवरण सङ्कलन शुरु गरिने बताउनुभयो ।

तत्काल भक्तपुर र सूर्यविनायक नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु गरिए पनि अर्को सातादेखि मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा सञ्चालन हुने भएको छ । प्रजिअ पाण्डेका अनुसार कम्प्युटरलगायत प्रविधि जडानका लागि एक साता लाग्ने भएकाले त्यसपछि कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य मापदण्ड पूरा गरेर विवरण सङ्कलन हुने गरिनेछ । रासस