त्रिविको स्थापना दिवसमा पाँचसय चियाका विरुवा रोपियो

  • 139
    Shares
त्रिविको स्थापना दिवसमा पाँचसय चियाका विरुवा रोपियो

सुनसरी । त्रिभूवन विश्वविद्यालयको ६१औँ स्थापना दिवसको अवसर पारेर धरानस्थित पूर्वाञ्चल क्याम्पसको प्राङ्गणमा चियाका विरुवा रोपिएको छ । त्रिवि कर्मचारी संघ, पूर्वाञ्चल क्याम्पस इकाइ समितिको पहलमा क्याम्पसको प्रशासन भवनअगाडि रहेको करिब २ कट्ठा खाली जग्गामा पाँच सय हाराहारीमा चियाको विरुवा रोपिएको हो ।

त्रिवि कर्मचारी संघ, पूर्वाञ्चल क्याम्पस इकाइ समितिका सभापति भद्रबहादुर तामाङले निकट भवियमा सो क्षेत्रलाई ‘कर्मचारी चिया बगैचा’कारुपमा विकसित गर्ने र यसले आन्तरिक पर्यटनमा सघाउ पुग्ने बताउनुभयो । उहाँले क्याम्पस प्रवेश गर्ने मुख्यद्वारमै रहेको चिया बगैचाले क्याम्पसको सौन्दर्यता बढाउनुका साथै प्राकृतिक मनोरम थप्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

सो अवसरमा क्याम्पस प्रमुख ओमप्रकाश ढकालले सुनसरी जिल्लामै यति धेरै संख्यामा चियाको विरुवा रोपिएको उल्लेख गर्दै यसले आन्तरिक पर्यटनमा सघाउ पुग्ने र क्याम्पसमा अध्ययनरत् छात्रछात्रालाई प्राकृतिक सौन्दर्यता रम्दै पठनपाठनमा थप ऊर्जा थप्ने बताउनुभयो । उहाँले चियाका विरुवा रोने कार्यलाई भविष्यमा पनि निरन्तरता दिँदै जाने र क्याम्पसको सौन्दर्यता अभिवृद्धि गर्दै लैजाने जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यार्थी कल्याण प्रमुख भरतप्रसाद उप्रेती, प्राध्यापक संघका सभापति देऊकुमार राउत, उपसभापति ज्ञानेन्द्र कार्की, प्रजातन्त्रवादी प्राध्यापक संघका कार्यवाहक सभापति लालबाबु प्रसाद, राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष मनोज गुरागाइँ, प्रशासन प्रमुख माधव निरौला, लेखा प्रमुख सुरेश सुवेदी, कर्मचारी संघका उपसभापति ललित राना, सचिव प्रकाश गिरी, वगैचा व्यवस्थापनामा सहयोग गर्ने आर्किटेक्ट मिमाङ हाङ किराँतलगायत कर्मचारी तथा शिक्षकहरुको उपस्थिति थियो ।

झापाको हल्दीवारी गाउँपालिका पाराखोपीस्थित सुदीप पोखरेलको नर्सरीबाट ति विरुवा ल्याइएको थियो ।