जलबिरेमा पहिरो, नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

जलबिरेमा पहिरो, नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

मुग्लिन, २२ वैशाख । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । वर्षाका कारण माथिबाट पहिरो आएर सो सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको थियो ।

अवरुद्ध भएको सो सडकखण्ड ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालनमा आएको र थप पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

गएरातिदेखि अविरल वर्षाका कारण इच्छाकामना गाउँपालिका–६ जलबिरेमा आज बिहान १०ः२० बजे गएको पहिरोका कारण सो सडकखण्ड अवरुद्ध भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड दुईतर्फी रुपमा सञ्चालन गर्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । पहिरोका कारण बाटो अवरुद्ध हुँदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधन राजमार्गमा नै अलपत्र परेका थिए । रासस