

-देवेन्द्रविक्रम शाह–
महामारी एवम् रोगको प्रकोपलाई कम गर्दै जनताको जीउधनको सुरक्षार्थ राज्यले जनतालई अत्यावश्यक प्रयोजन वाहेक घरमै बस्नका लागी जारी गरिएको निर्देशन नै लकडाउन हो । लकडाउनको नेपाली रुपान्तरण “बन्दाबन्दी” हो ।
नेपालको संविधान भाग ३० धारा-२७३ मा पनि प्राकृतिक विपद वा महामारीको कारणले गम्भिर संकट उत्पन्न भएमा ग्रसित वा पुरै क्षेत्रमा संकटकालीन अवस्था घोषणा गर्न सकिने व्यवस्था छ। तिव्ररुपमा फैलिने संक्रामक रोग एक व्यक्तिबाट अन्य व्यक्तिहरुमा नसरोस् भनेर सामाजिक दूरी कायम गर्ने नीतिको रुपमा लकडाउनलाई अगाडी सारीएको हो। सन् २०१९-२० कोरोना भाइरसको खिलाफमा धेरैजसो देशले लकडाउनको नीति अवलम्वन गरेका छन् ।
पृष्ठभूमी :
चीनको वुहान प्रान्तमा सन् २०१९ डिसेम्बरमा कोरोना भाइरस काेभिड-१९ पुष्टि भए लगत्तै त्यहाँको सरकारले डिसेम्बरदेखि २०२० अप्रिलसम्म लकडाउनको रुपमा आवतजावत ,यातायातका साधन चलाउन ,सार्वजनिक क्षेत्रमा भेला हुन निशेध गरेको थियो। हाल कोरोनाले विश्वलाई क्लकवाइज एक चक्कर लगाएको छ । विश्वमा कोरोनाबाट संक्रमित देश मध्ये अधिकतम देशले लकडाउन पाेलिसीलाई अवलम्वन गरिरहेका छन्। लकडाउन गर्ने देशहरुमा पाेलिसी अवलम्वन नगर्ने देशको तुलनामा कोरानाको संकमण दरमा न्युनता रहेको विश्व स्वास्थ्य संगठनलगायत स्वास्थ्य सम्वन्धी अन्य रिपाेर्टले देखाइसकेका छन्। कोरोना कोरोनाको संकमणबाट जोगिन सरकारले मिति २०७७ चैत११ गते लकडाउनको घोषणा गरेकोमा २०७६ चैत२४ र २०७७ साल ३ गते गरी दुई पटक थपिसकेको छ। विशेष परिस्थितिलाई सामना गर्न अपनाइका कार्यहरुको सकारात्मक र दूरगामी प्रभालाई विभिन्न दृष्टिकोणबाट हेर्न जरुरी हुन्छ।
लकडाउनले नेपाली समाजमा पारेका सकारात्मक प्रभावलाई बुँदागत रुपमा यसरी नियाल्न सकिन्छ :
महामारी विरुद्ध लड्न समाजसेवी,विभिन्न पेशामा संलग्न व्यक्तित्व ,सञ्चारकर्मी, राजनीतिज्ञ र राञ्य सिंगो ढिकाको रुपमा जुट्ने अवसर जुरेको छ। सवै वर्ग,जाती र समुदायलाई जुनसुकै बखतमा रोगले समात्न सक्छ सवैले सक्दो सहयोग र उद्दार गर्ने समावेशी भावनाको प्रष्फुटन भएको छ।
दैनिकीलाई कार्यव्यस्ततावाट छुटकारा मिलाउन नसक्ने व्यक्तिहरुले घर , परिवार संगै बसी सुख;दुख बाँढ्ने, योगसाधना गर्ने , दार्शनिक चिन्तनको अध्ययन गर्ने , पुस्तक लेख्नुका साथै आफुभित्र गुम्सिएका कला र भावनालाई सामाजिक सञ्जाल मार्फत पोख्न पाएका छन।
स्थानिय तहले विनियोजित वजेट तथा रकमान्तर गरी स्वास्थ्य क्षेत्रमा लगानी गरी अस्थाई स्वास्थ्य चौकी निर्माण, क्वारेन्टाइन निर्माण,स्वास्थ्य सामाग्री र उपकरणको खरिद तथा वितरण जस्ता कार्य गरी जनतामाझ सरकारको अनुभूती दिलाउने अवस्था सिर्जना भएको ।
जनताको सहभागिता विकास निमार्ण मात्र होइन महामारी र दैवी प्रकोपसंग जुध्न पनि जनताको उपस्थिति र सहभागिताको महत्व दर्सायको छ। राजमार्गमा विचल्लीमा परेका व्यक्तिलाइ खाना र वासको व्यवस्था गरि गन्तव्यमा पुर्याउन एक व्यक्तिले राञ्यको भूमिका निर्वाह गरिरहेको कारुणिक दृश्यले परोपकारी जनताको उपयोगिता दर्साएको छ।
सूनौला सपना वोकी परदेशमा भासिएका नेपालीहरुलाई जहाँबाट भएपनि एकपटक कल्पियर देशको माटो सम्झिन बाध्य पारेको छ।
सीमानाको प्रत्येक कि.मीको अन्तरमा नेपाली सुरक्षा कर्मीको उपस्थित आफैमा गौण विषय हो। इतिहासमै पहिलोपल्ट देशको सीमानाको सुरक्षा भएको महशुस भएको छ। फलस्वरुप सीमानाबाट हुनसक्ने आवतजावत त रोकिने क्रममै छ साथै सीमापार हुने अपराधिक कार्य शुन्यतामा झर्ने निश्चित छ।
हरेक विषयका सकारात्मक कुरा हुदाँ हुदै पनि त्यसले केही मात्रामा समाजमा विजारोपण गरेका नकारात्मक पक्षहरु हुन्छन जो समयमै विश्लेषण गरी सच्याउन सकेमा सम्वन्धित नियामक निकायले गरेका कामकारबाही अझ व्यवस्थित र परिष्कृत स्वरुपमा देखिन्छन्। लकडाउनले नेपालमा पारेका नकारात्मक पक्षलाई वुदाँगत रुपमा देहाय बमोजिम औल्याउन सकिन्छ ।
लकडाउन थपिदै कोरानाको संक्रमण बढ्दै जाने क्रममा निकट भविष्यमा दैनिक उपभोग्य सामाग्रीका अलावा औषधीजन्य सामाग्री तथा मेडिकल उपकरणको अभाव सिर्जना हुन सक्ने ।
बाहिर निस्कने व्यक्तिको आवश्यक्ता नवुझेर जनप्रतिनीधीले सीमाना बन्द गर्नु, पुलमा तार वार गर्नु ,रुख ढाली बाटो अवरुद्ध गर्नु , लाठीले हिर्काउनु जस्ता अपाच्य अमानवीय क्रियाकलाप मौलाउनु । सुरक्षा कर्मीबाट अस्पतालका कर्मचारी कुटिनु,औषधि किन्न गएकी आमालाई कुटिनु युग सुहाउँदा हर्कत होइनन्। यस्ता कार्य मानव सभ्यताका उपज हुन्।
नेपाल फर्कीन खोजेका हजारौ श्रमजिवी गरीखाने वर्ग सीमाना अलपत्र पर्नु अस्वभाविक विषय बाहिरी जगतले हेर्दा राम्रो देखिदैन।यो पनि एक किसिमको अल्पकालीन समस्या हो ।
ठुला व्यवसायी जसले कुटनीतिक सुविधा समेत अंगालेको अवस्थामा कालोवजारी गर्न तम्सिनु कानूनी राञ्यको शासकीय चुतौती हो।
राहत सामाग्री वितरणमा लापरवाही,अनियमितता र अपार्दिशता । स्थानीय तहले वितरण गर्दा एक डाडू तेल र एक मानो चामल बाँडेका सञ्चार माध्यममा आएको थियो । कुन विधि र तरिकाले राहत सामाग्री वितरण गरिएको होला ।
लकडाउन जनताको हितका लागी जारी भयो । सो परिपालना गर्ने क्रममा अनेकौ बाधा र अवरोध नभएका पनि होइनन। देखिएका समस्यालाई समाधानको दिशातर्फ ढल्किन जरुरी छ । तत्सम्वन्धमा माथी देखिएका समस्या समाधान गर्न देहायका उपायहरु समेत अवलम्वन गर्न आवश्यक छ:
पदीय आचरण विपरीत अमानवीय कार्य गर्ने राष्ट्रसेवकलाई हदैसम्मको कारवाही गरिनु पर्छ।
समय,रोगको व्यापकता,फैलावटलाई आत्मसात गरी क्षेत्रगतरुपमा आवतजावत लगायत मानवीय दैनिकी सुचारु गर्न नियमलाई खुकुलो र परिमार्जित गरिनु पर्छ।
प्राचिन घरेलु उपचार पद्धति,ध्यान,योग र साधनलाई आधुनिक चिकित्साशास्त्रको विकल्पको रुपमा लिनु पर्छ।
सेन्टिमेन्टभन्दा पनि प्रकोपको अवस्था हेरी सीमानामा अलपत्र परेका र विदेशमा रहेका नेपालीहरुलाई सम्वन्धित देशसंग कुटनीतिक माध्यमद्धारा सम्पर्क स्थापित गरी खाना , वस्न र औषधोपचारको व्यवस्था गरिनु पर्छ। साथै देशभित्र राजमार्गमा अलपत्र परेका व्यक्तिलाई खाना र वस्न प्रबन्ध गर्नु सम्वन्धित स्थायी ठेगानाको क्वारेन्टाइनमा पुर्याउन जनप्रतिनिधिले अहम भूमिका निर्वाह गर्नु पर्छ।
राज्यबाट प्राप्त सुविधाको दुरुपयोग गर्ने व्यक्तिलाई संकटकालीन कानून बमोजिम हदैसम्मको कारवाही गरिनु पर्छ।
अरु देशबाट प्राप्त स्वास्थ्य सामाग्री सातै प्रदेशमा समुचित मात्रामा वितरण हुनका साथै जनशक्तिको पनि व्यवस्थापन हुन जरुरी छ।
राहत वितरण के ? कति ? कसरी ? कसलाई बाँडिएको छ जिल्लामा जिल्ला समन्वय समिति तथा प्रदेशको हकमा प्रदेश सरकारद्धारा कडाईका साथ नियमन, मूल्यांकन र नियन्त्रण गरिनुपर्छ।
स्थानीय सरकारले पनि दैवी प्रकोप महामारी रोग नियन्त्रण सम्वन्धी कार्यक्रम सञ्चालनका साथै दक्ष जनशक्तिको व्यवस्थापन र पूर्वानुमान कार्य गर्न जरुरी छ।
अन्त्यमा कोरोनाको प्रकोप बढ्दै गइरहेको परिपेक्ष्यमा जनताले घरमा बसि राज्यलाई सिर्जनात्मक सहयोग गर्नुका साथै महामारी संग सम्वन्ध जानकारी,अनुभव सञ्चार माध्यम र सामाजिक सञ्जालबाट सचेतानामूलक कार्यमा पनि भाग लिनु पर्ने देखिन्छ । राज्यले अनुशासन पालना गराउने क्रममा बल प्रयोग नगरी बैकल्पिक रचात्मक शैली अवलम्वन गरेको खण्डमा महामारी विरुद्धको युद्ध समग्र राज्यका जनताले जित्नेमा दुई मत छैन। आफु बचौं र अरुलाई बाँच्न उत्प्रेरित गराऔं।