कोभिड–१९ः पूर्व मन्त्री बस्नेतबाट स्वास्थ्यकर्मी र बिरामीलाई आवश्यक सामाग्री वितरण

  • 132
    Shares
कोभिड–१९ः पूर्व मन्त्री बस्नेतबाट स्वास्थ्यकर्मी र बिरामीलाई आवश्यक सामाग्री वितरण

सिन्धुपाल्चोक, १३ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको अगुवाईमा सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रलाई कोरोना परीक्षणमा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

कोभिड–१९ (कोरोना भाइरस) को आशंकामा स्वास्थ्य संस्थामा परीक्षणका लागि विरामीहरु आउने भएपनि स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामग्री समेत अभाव भएपछि बस्नेतको पहलमा आवश्यक सामग्रीहरु वितरण गरिएको हो ।

बाह्रविसे नगरपालिकाका प्राथामिक स्वास्थ्य केन्द्र बाह्रविसे र क्षमादेवी स्वास्थ्य चौकीमा सेनीटाइजर,साबुन माक्स, ग्लोब्स, एप्रोन लगायतका सामग्रीहरु स्वास्थ्य केन्द्रमा पुगेर हस्तान्तरण गरेका थिए । त्यस्तै सिटामोल, स्वास्थ्यकर्मीहरुका लागि डिस्पोजल क्याप सहित करिब १० लाख मुल्य बराबरको सामग्री स्वास्थ्य चौकीहरुमा हस्तान्तरण गरिएको बताइएको छ ।

बाह्रविसेमा रहेको प्राथामिक स्वास्थ्य केन्द्र क्षेत्र नम्बर १ को उच्च सुविधा रहेको स्वास्थ्य केन्द्र भएपनि सामग्री अभावमा स्वास्थ्यकर्मीलाई समस्या भएपछि सबैसँग सहयोग मागेर सामग्री वितरण गरिएको पुर्व मन्त्री बस्नेतले जानकारी दिए ।

बस्नेतले प्राथामिक स्वास्थ्य केन्द्र बाह्रविसेका डाक्टर सिर्जना महर्जनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । संकटका बेला सबै राजनीतिक दल र स्थानीय सरकारका प्रमुखहरुले पनि स्वास्थ्य केन्द्र लगायत सम्भव हुँदा सम्म स्थानीयलाई पनि स्वास्थ्य सामग्री वितरण गरेर सहयोग गर्नुपर्ने बस्नेतले बताए ।

साथै बस्नेतले यो संकटको घडिमा देशको कुनै पनि स्वास्थ्य संस्था वा विरामीलाई अप्ठ्यारो परे आफु सहयोग गर्न २४ घण्टानै तयारी अवस्थामा रहेको बताउँदै कोरोना भाइरसलाई फैलिन नदिन कुनै पनि बेला कोही कसैलाई सहयोग गर्न परे आफुलाई ९८५१०२५९१७ मा सम्पर्क गर्न अनुरोध गरे ।