काठमाडौं, १२ चैत । चैते दशैं अर्थात् दुर्गा भगवतीको उपासनागरी मनाइने चैत्रनवरात्र आजबाट आरम्भ भएको छ । नवरात्रमा नवदुर्गा भगवतीको विशेष उपासनाका साथै सप्तशती चण्डी पाठ एवं देवी भागवतको पाठ पारायण हुने गर्दछ ।
शक्तिकी देवी भगवती दुर्गाको उपासना गर्ने उत्तम समयका रूपमा चैत्र नवरात्रलाई लिइन्छ । नवरात्रमा भक्तिपूर्वक दुर्गा देवीको उपासना एवं महात्म्य श्रवण गर्नाले सम्पूर्ण बाधाबाट मुक्त हुनुका सथै धन,धान्य,पुत्र पौत्रादि अभिवृद्धि हुन्छन् भन्ने फल देवी माहात्म्यमा वर्णन पाइन्छ । नवरात्र आफैंमा विशेष महत्वपूर्ण हुन्छ । शारदीय नववर्षको समयमा मुख्य दशैं मनाउने गरिन्छ भने यो वसन्त ऋतुमा मनाइने दशैं हो । यो पनि शारदीय नववर्षमा जस्तै विशेष खालको पर्व हो ।
नवदुर्गामा शैलपुत्री, ब्रह्मचारिणी, चद्र्घण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालारात्री, महागौरी र सिद्धिदात्री पर्दछन् । आद्य शक्ति दुर्गा देवीका महाकाली, महालक्ष्मी र महासरस्वती गरी तीन रूप छन् । तमोगुणमयी महाकाली भगवान् विष्णुकी योगनिद्रा र माया शक्ति हुन् ।
मधु र कैटभलाई बध गर्नका लागि ब्रह्माजीद्वारा जसको स्तुति भएको थियो तिनै देवीको नाम महाकाली हो । सम्पूर्ण देवताको अङ्गबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान देवी महालक्ष्मी हुन् । जसलाई त्रिगुणमयी प्रकृति पनि भनिन्छ । सत्वगुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएकी शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात् देवी महासरस्वती हुन् ।
नवरात्रमा भगवती दुर्गा देवीको उपासना गर्ने गरिन्छ । जगज्जननी माता दुर्गा देवीको उपासनाले धर्म ,अर्थ काम ,मोक्ष चार प्रकारका पुरुषार्थ सिद्धि प्राप्त हुन्छ । जुन कामना सहित भगवती देवीको उपासना ग¥यो सो पूरा हुने कुरा देवी कवचमा उल्लेख गरिएको छ ।
यो वर्षको चैते दशैंमा कोरोनाको प्रभावका कारण बाहिर जानसक्ने अवस्था छैन । सोमबारदेखि सरकारले एक हप्ते लकडाउन जारी गरेकोले मन्दिर जान समेत समस्या हुने अवस्था छ । त्यसैले यो नवरात्रमा सबैले आआफ्नै घरलाई नै मन्दिर सम्झिएर नवरात्र मनाउनुपर्ने भएकाे छ ।
चैत्र महिनामा पर्ने दशैं तथा नवरात्रीलाई चैते दशैं भनिन्छ । यसमा पनि दशैंको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन् । नेपाली चाडपर्वमा चैते दशैंको पनि महत्वपूर्ण स्थान रहेको छ । नेपाल भरिमा चैते दशैं विभिन्न ठाउँमा मनाइने गरिन्छ । तीमध्ये बागलुङ जिल्लाको देवीस्थानमा मनाइने चैते दशैंको आफ्नै विशेष स्थान रहेको छ ।
असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् । असोजमा मनाईंने दशैंलाई बडादशैको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं ।
चैते दशै पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिन्छ । एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरुमा विशेष महत्व रहेको उल्लेख गरिएको छ ।हिन्दु धर्मालम्वीहरुले आज चैते दशै मनाएर भोलि विशेष उत्सवको साथ राम नवमी पर्व मनाउने गरेका छन् ।