काठमाडौं, ४ चैत । टिपर दुर्घटनाबाट दुई जनाको मृत्यू भएपछि तनावग्रस्त बनेको पनौतीमा जिल्ला प्रशासन काभ्रेले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
पनौती र त्यस आसपासका क्षेत्रमा मंगलबार बिहान नौ बजेदेखि अर्को सूचना जारी नभएसम्मकालागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।
सोमबार दिउँसो पनौती बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा आमा र छोरीको मृत्यु भएको थियो । घटनापछि पनौती तनाबग्रस्त बनेको थियो ।
टिपरले ठक्करबाट खानीखोला गाउँपालिकाको वडा नम्बर १ स्थित श्री कालिका प्राथमिक विद्यालय हातिडाँडाका प्रधानाध्यापक ३३ बर्षीय जुनिमाया गोले र उहाँकी ३ बर्षिया छोरी स्मारिकाको निधन भएको थियो । घटनापछि स्थानीयले पनौती पार्क क्षेत्रमा प्रदर्शन गरेका थिए । आक्रोशित आफन्त र स्थानीयले टायर बालेर यातायात ठप्प पार्दा पनौती हुदै गुड्ने यातायातका साधन अवरुद्ध भएका छन् ।
स्थानीयले प्रदर्शन थालेपछि प्रहरीसंग तनावको स्थिती बनेको थियो । स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो । गोलीको छर्रा लागेर प्रहरी हलव्दारसहित ६ प्रहरी र ३ स्थानीय घाइते भएका थिए । प्रदर्शनकारीबाट चलेको गोलीको छर्रा लागेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । प्रदर्शनकारीले पनौतीमा रहेको प्रहरी बिट तोडपोड गरेका थिए । प्रदर्शन उग्र हुँदै गएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।