कांग्रेसले ५ लाख क्रियाशील सदस्यहरुलाई प्रशिक्षण दिने

कांग्रेसले ५ लाख क्रियाशील सदस्यहरुलाई प्रशिक्षण दिने

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसले आफ्ना ५ लाख क्रियाशील सदस्यहरुलाई पार्टीको सांगठिनक विकास र सुदृढिकरणको विषयमा आधारभूत तालिम दिने भएको छ।

उपसभापति विमलेन्द्र निधि संयोजक रहेको केन्दीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले चैत मसान्तभित्र देशभरीका सबै क्रियाशील सदस्यलाई प्रशिक्षित गराउन लागेको हो। प्रतिष्ठानका प्रमुख उपसभापति निधिको अध्यक्षतामा मंगलबार बसेको प्रतिष्ठानको बैठकले यस्तो निर्णय गरेको हो।

पार्टीको विधान र नियमावली अनुसार, जिल्ला उपसभापति जिल्लास्तरीय प्रशिक्षण प्रतिष्ठानको संयोजक रहने व्यवस्था छ। प्रतिष्ठानल आज बुधबार सबै जिल्ला उपसभापतिहरुसंग पार्टी मुख्यालय सानेपामा संगठन, क्रियाशील सदस्यता वितरणको प्रक्रिया लगायतका विषयमा छलफल गर्दैछ।

प्रतिष्ठानका प्रमुखसंगको छलफलपछि जिल्लास्तरीय प्रशिक्षण प्रतिष्ठान प्रमुखसमेत रहेका जिल्ला उपसभापतिहरुले आगामी चैत १५ गते ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा १० हजार क्रियाशील सदस्यहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिने कार्यक्रम तय गरिएको छ।

यसरी प्रत्येक जिल्ला त्यसमा पनि एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको हकमा दुई प्रदेश सभा र एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको हकमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र गरी २ सय स्थानमा प्रति निर्वाचन क्षेत्र ५० जनाका दरले १० हजार जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिइनेछ।

ती १० हजार प्रशिक्षकले चैत मसान्तभित्रै सबै जिल्ला र स्थानीय तहमा करिब ५ लाखको हाराहारीको संख्यामा रहेका सम्पूर्ण क्रियाशील सदस्यलाई प्रशिक्षण दिनेछन्। देशव्यापी रुपमा हुने प्रशिक्षण कार्यक्रमले पार्टी कार्यकर्तामा थप उत्साह ल्याउने अपेक्षा कांग्रेसको अपेक्षा छ।