नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने तयारी

नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने तयारी

काठमाडौं, १९ फागुन । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । हिजो साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । तर यो निर्णय सार्वजनिक गरेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राख्नु भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले भ्रमण वर्ष स्थगित गर्ने विषयमा छलफल भएको जानकारी गराउनुभयो । स्थगित नै भएको हो ? भन्ने जिज्ञासामा उहाँले एकदुई दिनमा मात्रै निर्णय आउने बताउनुभयो । मन्त्रालयले नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्च महिनामा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रम स्थगन भइसकेको यसअघि नै जानकारी गराएको थियो ।

‘संसारभरि नै आवागमन नै बन्द गर्नुपर्ने स्थिति आएको छ, यस्तो वेलामा भ्रमण वर्षको प्रवद्र्धन गर्नु उचित हुँदैन भनेर प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा भन्नुभयो,’ एक मन्त्रीकाअनुसार ‘प्रधानमन्त्रीले अब सन् २०२२ मा भ्रमण वर्ष सम्पन्न गर्ने गरी तयारी गर्न निर्देशन दिनुभएको छ ।’

एक वर्षमा २० लाख पर्यटक ल्याउने उद्देश्यसहित ३० साउन ०७४ मा देउवा नेतृत्वको तत्कालीन सरकारले नेपाल भ्रमण वर्ष– २०२० को घोषणा गरेको थियो । प्रचारप्रसार तथा तयारीका लागि अहिलेसम्म ३० करोडभन्दा बढी खर्च भइसकेको छ ।