प्रधानमन्त्री ६९ औं जन्मदिन मनाउँन जन्मथलो तेहथुम जादै

प्रधानमन्त्री ६९ औं जन्मदिन मनाउँन जन्मथलो तेहथुम जादै

काठमाडौं। प्रधानमन्त्री केपी ओलीको आज ६९ औं जन्मदिन परेको छ। प्रधानमन्त्री आफ्नो ६९औँ जन्मदिन मनाउन जन्मथलो तेह्रथुम जाँदैछन् । ओली २००८ साल फागुन ११ मा तेह्रथुमको साविक इवा गाविसको सल्ले (हाल अठराई गाउँपालिका–४) मा जन्मेका थिए। ओलीले आफ्ना पिता मोहनप्रसादले २०२४ सालमा बेचेको गाँउको घरमै जन्मदिन मनाउने तयारी छ ।

बुवाले साढे ११ हजार रुपैयाँमा बेचेको उक्त घर ओलीले २०७२ सालमा आफ्नो नाममा फिर्ता लिएका थिए । हाल उक्त घर खालि अवस्थामा रहेको छ । ओलीले जन्मदिनमा आफ्ना गाँउका जेष्ठ नागरिकलाई सम्मान गर्ने र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।

जन्मदिनको अवसरमा आठराई गाउँपालिकामा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।आठराईमा त्रिभुवन विश्वविद्यालयको एक आङ्गिकसहित दुई वटा क्याम्पस र नौ वटा माविसहित ५८ वटा विद्यालय छन् ।

त्यहाँ प्रधानमन्त्री ओलीले ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने र नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्ने समेत कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकामा आइतबार स्थानीय सार्वजनिक बिदा दिइएको छ ।