पलाञ्चोक भगवतीकोलागी जग्गा खरिद गर्ने अभियानको थालनी

पलाञ्चोक भगवतीकोलागी जग्गा खरिद गर्ने अभियानको थालनी

काभ्रे, ४ फागुन । पाँचखाल नगरपालिका-९ पलाञ्चोकस्थित भगवती मन्दिरमा थप संरचना निर्माण गर्न करीब ३ करोडको जमिन खरीद गरिने गर्न अभियान थालिएको छ ।

महायज्ञ तथा अन्य सहयोगबाट मन्दिरको उत्तरपूर्वमा रहेको जग्गा खरीद गर्न लागिएको हो । हाल पार्किंगको लागि प्रयोग हुदै आएको सो जग्गा निजी जग्गा भएकोले पलाञ्चोक भगवतीको स्वामित्वमा ल्याउन अभियान थालिएको हो । चैत्र १८ गतेबाट महायज्ञ गरि आवश्यक आर्थिक संकलन गरि रकम जुटाउने कुरा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।

नगर कार्यालयले चालू आर्थिक वर्षमा ३० लाख रकम छुट्याएको छ । नगरप्रमुख महेश खरेलले शुक्रबार १ लाख ८ हजार सहयोग गर्ने घोषणा गरेका छन् । विभिन्न व्यक्तिका नामको ५ रोपनी ५ आना जग्गा करीब ३ करोडमा खरीद गर्न लागिएको हो । शक्तिपीठका रूपमा मानिदै आएको मन्दिर परिसरमा गरिने यज्ञमा भक्तजन एवं दाताबाट करीब ५ करोड संकलन हुने अपेक्षा छ ।

प्रतिआनाको जग्गा ३ लाख हाराहारीमा किन्ने सहमति गरी बैना गरिएको छ । नगरप्रमुख खरेलका अनुसार जग्गाधनी र समितिबिच जग्गा लिनेदिने सहमति भएको हो । उक्त जग्गा हाल मन्दिरका भक्तजनको सवारी साधन पार्किङस्थलको प्रयोग हुँदै आएको छ ।

उक्त जग्गामा मन्दिर विकास समितिले व्यवस्थित पार्किङ, सभाहल, विवाह तथा अन्य शुभकार्यका लागि भवन र व्यवस्थित शौचालय निर्माण गरिने योजना बनाएको छ । मन्दिर विकास कोषमा ४० लाख रहेको वडाध्यक्ष किरण श्रेष्ठले बताए ।

मन्दिर लिच्छविकालीन राजा मानदेवको रानी विजयश्वरीले ४७६ वर्षअघि निर्माण गर्न लगाएको मानिन्छ । वि.सं.२०३२ मा तत्कालीन सरकारले मन्दिर जीर्णोद्वार गरेको थियो । २०७२ साल को बिनाशकारी भूकम्पबाट क्षति भएको मन्दिर हालै मात्र पुनर्निर्माण गरिएको हो ।