विजय गच्छदार सांसदबाट स्वतः निलम्बित, कांग्रेसकाे आपत्ति

विजय गच्छदार सांसदबाट स्वतः निलम्बित, कांग्रेसकाे आपत्ति

काठमाडौं, २२ माघ । नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट निलम्बित हुनुभएको छ।

बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेसँगै गच्छदार सांसदबाट स्वतः निलम्बित हुनुभएको हो ।

भ्रष्टाचार मुद्दा अन्तिम टुंगो नलागेसम्म गच्छदार प्रतिनिधिसभा सदस्यको हैसियतमा रहनु हुने छैन । सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा तीन मन्त्री, छ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारीलगायत १७५ विरुद्ध आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

आयोगले तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव छविराज पन्त, दीप बस्न्यात, दिनेशहरि अधिकारी, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, मुख्य मतियार मानिएका शोभाकान्त ढकाललगातयविरुद्ध आरोपपत्र दायर गरेको हो ।

निर्णय गर्ने र लालपूर्जा सिरानीमा हाल्नेलाई कारवाही खोई ?: कांग्रेस

नेपाली कांग्रेसले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने नीतिगत निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र उक्त सरकारी जग्गा गैरकानूनी रुपमा खरिद गर्ने नेकपा महासचिव विष्णु पौडेललाई कारवाहीको सिफारिस नगरिनुप्रति आपत्ति जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीतिगत निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री नेपाल र जग्गा खरिद गर्ने पौडेललाई उन्मुक्ति दिनेगरी गरेको विशेष अदालतमा दायर भ्रष्टाचारको मुद्दा निष्पक्ष नभएको भन्दै कांग्रेसले प्रश्न उठाएको छ।

बुधबार अख्तियारले विषेश अदालतमा मुद्दा दायर गरे लगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गरी नीतिगत निर्णय गर्ने र लालपूर्जा सिरानीमा हाल्नेलाई खोई कारवाही नगरेर कांग्रेस नेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहमा कारवाही सिफारिस गरिएको भन्दै विरोध गरेका छन्।

‘श्री माधवकुमार नेपालको पालामा नीतिगत निर्णय। एक पूर्वमन्त्री कमरेडको सिरानीमा लालपूर्जा। मुद्दा कसलाई? विजयकुमार गच्छदारलाई ?’ शर्माले ट्वीटमा भनेका छन्। प्रवक्ता शर्माले एनिमल फार्म कितावको एक उद्धरण पनि ट्वीटमा उल्लेख गरेका छन्–‘सबै जनवारहरु समान हुन् तर केही जनवारहरु अरुभन्दा धेरै समान छन्।’

एनआरएनको केन्द्रीय कार्यालय जफत गरेर कारवाही गर्न सिफारिस

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा गैरकानूनी रूपमा किनेर गैरआवासीय नेपाली संघ (एनआएरएन) ले बनाएको केन्द्रीय कार्यालय भवन जफत गरी कारवाही गर्न सिफारिस गरेको छ।

बुधबार अख्तियारले विषेश अदालतमा मुद्दा दायर गरी सरकारी जग्गामा निर्माण भएको एनआरएनको घर खाली गर्न अटेर गरेको भन्दै सरकारी जग्गा कब्जा गरेको कसुरमा एनआरएनलाई कारवाही गर्न सिफारिस गरेको हो।

अरु काे काे परे ? अख्तियारकाे विज्ञप्ति