

काठमाडौं, ३ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका अधिकांश क्षेत्रमा वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी, मध्य र पूर्वी पहाडी भू(भागमा सामान्यदेखि पूर्णतया बदली रहेको जनाएको छ । आगामी तीन दिनसम्म सामान्य वर्षा, उच्च हिमाली भेगमा हिमपात हुने पूर्वानुमान गरेको छ । बिहीबार साँझदेखि नै सुरु भएको वर्षा अझै रोकिएको छैन । वर्षाका कारण चिसो बढेको छ भने हिमाली भेगमा हिमपात भइरहेको छ । वर्षा र हिमपातका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न क्षेत्रका जनजीवन प्रभावित बनेको छ ।
महाशाखाका अनुसार शनिबार र आइतबार पनि वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।आइतबार राति भने देशका पहाडी भु–भागमा आंशिक बदली तथा बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।