गाडीभित्र अश्लील गतिविधि गर्ने युवक पक्राउ

गाडीभित्र अश्लील गतिविधि गर्ने युवक पक्राउ

काठमाडाैं, २९ पुस । सार्वजनिक गाडीभित्र अश्लील गतिविधि गर्ने युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ परेका अभियुक्त तनहुँको तत्कालीन अरुणोदय गाविस घर भएर हाल चितवनको भरतपुरस्थित विकासचोक बस्ने २१ वर्षीय रवीन सार्की भनिने रवीन रुचाल छन् ।

विसं २०७५ माघ ११ गते बसभित्र त्यस्तो गतिविधि गरेको दृश्य सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । गएकाे वर्ष साउनमा खिंचिएको भिडियो सात महिनापछि माघमा अपलोड गरेको खुल्न आएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । चितवन प्रहरीसँगको समन्वयमा महाशाखाको टोलीले आइतबार अपराह्न चितवनको भरतपुरबाट उनलाई पक्राउ गरी थप कारबाहीका लागि काठमाण्डाै ल्याएको थियो।

महाशाखा प्रमुख सहकुलबहादुर थापाले ठूलो मेहनत गरेर एक वर्षपछि नै भए पनि घटनाका अभियुक्त पक्राउ गर्न सफल भएको बताउँदै साइबर अपराधमा मुद्दा चलाइने जानकारी दिनुभयो । ‘पहिचान नभएको अभियुक्त हो, पत्ता लगाउन ठूलो मेहनत गरेका छौँ, गुगल र फेसबुकसँग आइपी एड्रेस मागी पत्ता लगाएर पक्राउ गर्न सफल भयौँ’ थापाले भन्नुभयो।

घटना भएको समयभन्दा तीन वर्षअघिदेखि उनी काठमाण्डाै बस्दै आएका थिए । त्यो बेला उनले रिक्सा चलाउँथे । घटनाको केही समयपछि प्रहरीबाट बच्न उनी भारत गएका थिए । लामो समयसम्म प्रहरीले युवकको पहिचान गर्न सकेको थिएन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)पनि घटनाको अनुसन्धानमा लागेको थियो । घटनाको केही समयपछि प्रहरीले गाडी भने काठमाण्डाैको ढल्कुमा फेला पारे पनि तथ्य पत्ता लगाएको थिएन ।

घटना सामसुम भएको ठानेर उनी तीन महिनाअघि भारतबाट नेपाल आएको महाशाखाले जनाएको छ। उनले घटनासँग सम्बन्धित विषय फेसबुकमा समेत सन्देश पोष्ट गरेको प्रहरीले जनाएको छ । पहिचान भएको दोस्रो दिनमा नै उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध साइबर अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ । कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।