हिउँदे वर्षा लम्बिने सम्भावना,आज दिनभरि नै पानी र हिउँ पर्ने

हिउँदे वर्षा लम्बिने सम्भावना,आज दिनभरि नै पानी र हिउँ पर्ने

काठमाडौं, २४ पुस । पश्चिमी वायुको प्रभावले केही दिनदेखि देशभरिकै मौसम बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले यस वर्षको हिउँदे वर्षा लम्बिने जनाएको छ । छिटो हिउँदे वर्षा सुरु भएर पनि यस वर्षको हिउँदे वर्षा लम्बिने सम्भावना बढेको हो ।

अहिले देशका विभिन्न ठाउँमा पानी र हिउँ परिरहेको छ । अहिले पश्चिमको दिपायल, वीरेन्द्रनगरसहित पूर्वको ओखलढुङ्गा आसपासका क्षेत्रमा पानी र हिउँ परिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

तेस्रो पटकको हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली सोमबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको हो । जसका कारण मङ्गलबारदेखि नै देशभर बदलीको अवस्था कायम रह्यो । पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भइ धेरै ठाउँमा पानी र हिउँ परिरहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार यसकै प्रभावले बिहीबार दिनभरि नै पानी र हिउँ पर्दै रोकिने क्रम जारी रहने छ ।

शुक्रबार काठमाण्डौसहित मध्यका थोरै र पश्चिमका धेरै ठाउँमा घाम लाग्ने तर मध्य क्षेत्रकै केही र पूर्वको मौसम भने आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको उहाँले बताउनु भयो । तीन दिनसम्मको अवधिमा देशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।