१३ औं संघीय संसद सेवा दिवस : समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न

१३ औं संघीय संसद सेवा दिवस : समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न

काठमाडौं, २८ मंसिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न संसदलाई मर्यादित बनाएर संसदीय गतिविधिलाई अघि बढाउनुपर्ने बताउनुभएको छ ।

१३ औं संघीय संसद सेवा दिवसका अवसरमा संघीय संसद सचिवालयले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले संसदको हरेक गतिविधि मर्यादित हुनुपर्ने र यसमा सांसददेखि कर्मचारीसम्म गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । उहाले समय विताउनका लागि मात्रै नभइ राज्यप्रतिको दायित्व बुझेर काम गर्न सचिवायलका कर्मचारीलाई निर्देशन दिनुभयो । आफुले पाएको जिम्मेवारीलाई नयाँढंगले पुरा गर्नुपर्ने उहाको भनाई छ । त्यस्तै प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्वाहाम्फेले संकुचित अवस्थामा सचिवालयका कर्मचारीहरु बस्न नहुने बताउनुभयो । उहाले जवरजस्ती रुपमा कसैले पनि कर्मचारीलाई काममा नलगाउने भन्दै दिइएको जिम्मेवारी पुरा गर्न कर्मचारीहरु गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा संघीय संसद सचिवालयको सर्वोत्कृष्ट कर्मचारी पुरस्कार सूचना अधिकृतसमेत रहेका उपसचिव दशरथ धमलालाई प्रदान गरियो । पुरस्कारको राशि रु १ लाख रहेको छ । ७५ हजार रुपैयाँको उत्कृष्ट कर्मचारी पुरस्कार रेणुका सुवेदीले प्राप्त गर्नुभयो । संसद सेवा पुरस्कार भने संघीय संसद सचिवालयमा कार्यरत कर्मचारीद्वय जंगबहादुर मगर र गम्भीरमान सिंहले प्राप्त गर्नुभयो । पुरस्कार जनही ५० हजार रुपैयाँ राशिको छ । संसदको वृहद सेवा पदक भने संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत ३७ जनाले प्राप्त गर्नुभयो ।

कार्यक्रममा संसद सेवा दिवसका अवसरमा संचालन गरिएका विविध क्रियाकलापका विजेतालाई पनि पुरस्कार वितरण गरिएको छ।