धनुषाको क्षिरेश्वरनाथमा विस्फोट हुँदा ३ जनाको मृत्यु

धनुषाको क्षिरेश्वरनाथमा विस्फोट हुँदा ३ जनाको मृत्यु

धनुषा, २८ मंसिर । धनुषामा विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ५ स्थित राजेश साहको घरमा संकास्पद वस्तु भेटिएको भन्दै भिड जम्मा भएको बेला विस्फोट भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिनुभयो ।

गएराति भएको बम विस्फोटमा ४६ वर्षका राजेश्वर साह र उनका २४ वर्षीय छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो । विस्फोटमा परी घाइते भएका प्रहरी निरीक्षक अमिर दाहालको पनि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फोट भएको हो ।

बम हो वा होइन भनी इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी टोली पुग्नेबित्तिकै विस्फोट भएको हो । विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका थिए । घाइते दाहाललाई बीपी स्वास्थ्य प्रतिस्ठान धरान ल्याउँदे गर्दा मृत्यु भएको हो । अन्य तीन जनाको धरानमै उपचार भइरहेको छ । घटनामा अन्य दुई जना सामान्य घाइते भएको बताइएको छ ।

कसैले उनीहरूको हत्या गर्नकै लागि राखेको बम विस्फोट भएको हुन सक्ने स्थानीयको अनुमान छ । बम फेला परेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । घटनास्थल इलाका प्रहरी कार्यालयबाट ४ सय मिटरको दूरीमा पर्छ ।