फास्ट ट्रयाक २०८१ वैशाखसम्म सम्पन्न गर्ने नेपाली सेनाको कार्ययोजना

फास्ट ट्रयाक २०८१ वैशाखसम्म सम्पन्न गर्ने नेपाली सेनाको कार्ययोजना

काठमाडौं, २२ मंसिर । नेपाली सेनाले २०८१ वैशाखसम्म फास्ट ट्रयाक निर्माण सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको छ ।

त्यसका लागि सेनाले समय तोकेरै फास्ट ट्रयाक निर्माणको कामको तालिका सार्वजनिक गरेको हो । ठूला पुल निर्माणको कामलाई २०७७ पुसमा सुरू गरेर २०८० को मंसिरमा सम्पन्न गर्ने सेनाले जनाएको छ । सैनिक मुख्यालयमा सोमबार पत्रकार सम्मेलन गर्दै सेनाले साना ठूला अन्य पुलहरू २०७७ को भदौमा सुरू गरेर २०८० को पुसमा सक्ने लक्ष्य रहेको जनाएको हो । सेनाले सुरूङ निर्माणको काम २०७८ जेठबाट सुरु हुने जनाएको छ । सेनाले सार्वजनिक गरेको कार्यतालिका अनुसार सुरूङ निर्माणको काम २०८१ वैशाखमा सकिनेछ ।

सरकारले २०७४ वैशाखमा ४ वर्षभित्र सक्नेगरी फास्ट ट्रयाक बनाउन सेनालाई जिम्मेवारी दिएको थियो । सोही वर्षको जेठमा फास्ट ट्रयाकको शिलान्यास भएको थियो भने साउनदेखि सेनाले काम सुरू गरेको थियो । ७२.५ किमिको फास्ट ट्रयाक चार लेनको हुने गरि निर्माण भइरहेको आयोजना प्रमुख शरदलाल श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै सेनाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि लिगलिकोट दौडको आयोजना गर्ने जनाएको छ , प्राचीन कालमा गोरखाको लिगलिगमा १३. ८ किलोमिटर दौडमा प्रथम भएपछि गोराखा राज्यको राजा हुने प्रचलन थियो। द्रव्य शाहले लिगलिगकोटको दौड जितेर गोराखाको राजाभएपछि यो दौड चर्चामा रहँदै आएको हो ।

त्यस्तै सेनाले नेपाल भ्रमण वर्षलाई सफल बनाउन एक वर्षे कार्यक्रमसमेत सार्वजनिक गरेको छ । सेनाले सगरमाथा आरोहण र सरसफाइ, प्यारागलाइडिङ, नेपाल म्याराथुन, जंगल सफारी र माउन्टेन ट्रेकिङ, पिस सेमिनार र रन फर फन, युनिफिकेसन ट्रैल ट्रेकिङ, ओपन एडभेन्चर स्पोर्टर्स कम्पिटिसन लगायतका कार्यक्रम गर्ने भएको छ ।