दुई लाख नेपाली पासपोर्ट इन्टरपोलको रेकर्डमा, दैनिक ६३ पासपोर्ट हराउँछ

दुई लाख नेपाली पासपोर्ट इन्टरपोलको रेकर्डमा, दैनिक ६३ पासपोर्ट हराउँछ

काठमाडाैं, ८ मंसिर । विभागको तथ्यांकअनुसार नौ वर्षयता ६० लाख राहदानी जारी भएकोमा वार्षिक करिब २३ हजार नेपाली पासपोर्ट हराउने गरेका छन्। विभागको तथ्यांकलाई आधार मान्दा दैनिक ६३ वटा राहदानी हराएको रिपोर्ट विभागमा आउने गर्छन्। यो संख्या विभागको जानकारीमा आएको रेकर्ड मात्रै हो। याे खबर आजकाे राजधानी दैनिकमा प्रकाशित छ ।

राहदानी विभागका अनुसार हराएको सो पासपोर्ट प्रहरीको इन्टरपोल शाखामार्फत् इन्टरपोलमा रेकर्ड राखेको हो। विभागले हस्तलिखित पासपोर्ट भने इन्टरपोलमा राखेको छैन। हस्तलिखित पासपोर्ट हटेर मेसिन रिडएबल पासपोर्ट जारी हुन थालेपछि हराएका र चोरी भएको पासपोर्ट इन्टरपोलमा राख्दै आएको छ।

विभागले ११ पुस २०६७ देखि एमआरपी जारी गर्न सुरु गरेको हो। नेपाललगायत अन्य मुलुकले पनि पासपोर्ट हराएमा इन्टरपोलमा राख्ने गर्दछन्। इन्टरपोलले यसलाई आफ्नो ‘सिस्टम’मा राखेको छ, जसको पहुँच अध्यागमन कार्यालयलाई दिइएको छ।विभागले व्यक्तिको हराएको राहदानी दुरुपयोग रोक्नका लागि इन्टरपोलमा राख्दै आएको छ।

राहदानी विभागमा पासपोर्ट हराएको तथा चोरी भएको जानकारी गराएपछि सो पासपोर्टको सम्पूर्ण विवरण प्रहरीको इन्टरपोल शाखामार्फत अपडेट गर्दै आएको छ। राहदानीको विषयमा सम्बन्धित अधिकारीलाई शंका लागेमा इन्टरपोलमार्फत सम्पूर्ण विवरण लिन सजिलोका लागि रेकर्ड राखिएको हो।

इन्टरपोल अन्तर्राष्ट्रिय प्रहरी संगठन हो, जहाँ विश्वका १ सय ९४ राष्ट्र आबद्ध छन्। हाल इन्टरपोलमा विश्वभर हराएका वा चोरी भएका ८ करोड ४० लाख पासपोर्टको तथ्यांक छ। याे खबर आजकाे राजधानी दैनिकबाट लिएका हाै‌ ।