अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपालले क्यानडाको सनसनीपूर्ण तरिकाले हराउँदै डिभिजन एकमा बढुवा भएको छ।
क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि करन केसीले सम्झनलायक प्रदर्शन गरेपछि हारिसकेको खेल नेपालको पक्षमा गएको हो।
यो जितसँगै नेपाल विश्व क्रिकेट लिग डिभिजन–१ मा प्रवेश गर्नुका साथै विश्वकप एक दिवसीको छनोट खेल्ने मौका पाएको छ।
पूरै नेपाली खेल उल्टाएका केसीले ३१ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ४२ रन बनाएर नटआउट रहे। सँगै नटआउट रहेका सन्दीप लामिछानेले १८ बलमा पाँच रन मात्र बनाए पनि केसीलाई पुरा साथ दिए। नेपालको जितका लागि करणको प्रदर्शन सनसनीपूर्ण रह्यो।
नेपालका लागि ओपनर दिलिप नाथले ४१ रन बनाए भने रोहित पौडेलले २७ रन बनाए। आरिफ शेखले २६ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले १८, उपकप्तान ज्ञानेन्द्र मल्लले ९ रन बनाए। यस्तै १२ बल खेलेका सोमपाल कामीले ७ रन बनाएर आउट भए।
चौथो विकेटको रुपमा दिलिप नाथको ठाउँमा ब्याटिङ गर्न आएका शरद भेषावकर ५ बलमा एक रन मात्रै बनाएर आउट भए।
सुरुमै कप्तान र उपकप्तानलाई गुमाएपछि धरमराएको नेपाली ब्याटिङलाई केही सम्हालेका थिए । उनले ६८ बलमा पाँच चौकासहित ४१ रन बनाए। उनी सेसिल परबेजको बलमा हम्जा तारिकको हातबाट क्याचआउट भए। परबेजले नै नेपालका कप्तान र उपकप्तानलाई आउट गरेका थिए ।
छैटौं ओभरको पाँचौ र अन्तिम बलमा नेपालले दुई ठूला विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको छ । पारस र ज्ञानेन्द्र दुवैलाई क्यानडाका बलर परबेजले आउट गरेका हुन् । ज्ञानेन्द्र २५ बलमा एक छक्कासहित ९ रन बनाएर आउट भए।
खेलमा अन्तिममा बलर करन केसी र सोमपाल कामीले नेपाललाई सम्मानजनक स्कोर बनाउन सहयोग गरे।
यूएईसँग उपाधि भिडन्त
बुधबार नै भएको अर्को खेलमा यूएईले नामिबियामाथि १९ रनको जित निकालेको छ र फाइनलसँगै विश्वकप छनोटमा स्थान बनाएको छ ।
पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर २४७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोलीले २ बल खेल्नु अघि सबै विकेट गुमाएर २२८ रन मात्र बनाउन सक्यो ।
नेपाल र यूएईको उपाधि भिडन्त पर्सि हुनेछ ।
हारेका दुई टिम क्यानडा र नामिबिया डिभिजन टूमै रहने भएका छन् भने केन्या र ओमान रेलिगेशनमा परेका छन् ।