

भोजपुर, १३ कात्तिक । जिल्लामा भूकम्पका कारण पूर्णक्षति भएका दुई हजार ४६३ घर पुनःनिर्माण भएको छ । लाभग्राहीको सूचीमा परेका पाँच हजार ७४९ पीडितमध्ये हालसम्म दुई हजार ४६३ घर पुनःनिर्माण भइसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो ।
त्यसैगरी पाँच हजार १९१ले पहिलो र तीन हजार ८२१ ले दोस्रो किस्ताको रकम लिएको उक्त कार्यालयले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ३१ जेठको निर्णय अनुसार कात्तिक मसान्तसम्म दोस्रो किस्ता र माघ मसान्तसम्म तेस्र्रो किस्ता लिइसक्नुपर्ने बताउँदै प्रमुख रेड्डीले तोकिएको समयमा तेस्रो किस्ता नलिए पहिलो र दोस्र्रो किस्ताबापत लिएको अनुदान फिर्ता गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘‘प्राधिकरणले पुनःनिर्माणको कामलाई तीव्रता दिने गरी काम गरिरहेको छ, निर्धारित समयमा किस्ता नलिए त्यस्ता लाभग्राहीले रकम फिर्ता गर्नुपर्ने हुन्छ ।’’ निजी आवास पुनःनिमार्ण अनुदान कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यालयले स्थानीय तहमासमेत विभिन्नखाले कार्यक्रम सञ्चालन गरिरहेको छ । सरकारले निर्धारण गरेको समय सीमासम्म पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्यका साथ कार्यालयले आज रामप्रसाद राई गाउँपालिकाका जनप्रतिनिधिसँग काम गर्दाका समस्या, कानूनी व्यवस्थालगायत विषयमा जानकारी दिन गोष्ठी गरेको हो ।
जिल्लामा प्रवलीकरणतर्फ परेका ४५३ निवेदनमध्ये २६६ जनाले पहिलो किस्ता लिएको कार्यालयका नायबसुब्बा हरिकृष्ण दाहालले जानकारी दिनुभयो । रासस