

-रामचन्द्र दुलाल-
सिन्धुपाल्चोक, ३ कार्तिक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्वारमा एक युवाको हत्या भएको खबर प्राप्त भएको छ । स्रोतकाअनुसार हत्यापछि एक स्थानीयको घर नजिकै रहेको मलखादमा गाडिएको अवस्थामा शव फेला परेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक नवराज न्यौपानेकाअनुसार लामोसाँघु जिरी सडक सुधार आयोजनामा स्काभेटर चलाउँदै आएका बाह्रविसे नगरपालिका वडा नम्बर ३ पलातीका ३५ वर्षीया जिवन थापाको हत्या पछि मलखादमा लगेर गाडिएको थियो ।
सुनकोशी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष इश्वर तिमिल्सिनाकाअनुसार शुक्रबार बेलुकीदेखि हराइरहेका थापाको खोजबिनका क्रममा मलखाडीमा गाडेको अवस्थामा लास फेला परेको थियो ।
गएको मंसिरदेखि लामोसाँघु जिरी सडक निर्माणको जिम्मा पाएको गौरी पार्वती ठेकेदार कम्पनीमा कार्यरत रहेका थापा एक किलोमा रहेको कम्पनीको कार्यालयमा बस्दै आएको थिए । शुक्रबार बेलुकीदेखि हराएपछि कम्पनीमा कार्यरत साथीहरुले प्रहरीलाई खबर गरेर शनिबार उनको खोजी भएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।