

काठमाडौं, १ कार्तिक । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै दल विशेषका पछि लाग्ने सरकारी कर्मचारीको एक–एक हिसाब राखिने चेतावनी दिनुभएको छ ।
पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको दुईदिने प्रशिक्षणको उद्घाटन गर्दै सभापति देउवाले सरकारी कर्मचारी सत्तारुढ दल नेकपाको पछि लागेकोप्रति आपत्ति जनाउँदै यस्तो चेतावनी दिनुभएको हो । कांग्रेसले पार्टीका तर्फबाट विजयी भएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुका लागि सञ्चालन गरेको दुईदिने प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘जनताले तिरेको कर खाएर कुनै एक पार्टीको पछि लाग्न पाइँदैन, लाग्ने नै हो भने हामी पनि एक–एक हिसाब राख्छौं ।’ जनताले तिरेको करबाट तलब खाने राष्ट्रसेवक कर्मचारी कुनै पार्टी विशेषको बन्न नहुनेमा सभापति देउवाले जोड दिनुभयो ।
कम्यनिस्टहरुले स्थानीय तहमा जथाभावी लुट मच्चाइरहेको आरोप लगाउँदै देउवाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जनताको मत जित्ने गरी सेवा प्रदान गर्न निर्देशन दिनुभयो । ‘कम्युनिस्टभन्दा फरक र राम्रो काम गरेर जनताको मन जित्नुस्,’ सभापति देउवाले भन्नुभयो, ‘हाम्रा साथीहरुले काम गरेर देखाउनुपर्छ । कामबाटै हामी फरक छौँँ भन्ने देखाउनुपर्छ ।