काठमाडौं, १६ असोज । कृष्णबहादुर महरामाथि बलत्कारको आरोप लगाउने संसद सचिवालयमा कार्यरत रोशनी शाही र उनका पति अलग भएका छन् ।
उनका श्रीमान चित्रजंग शाहीले आफूहरु अलग्गिने निर्णय लिएको लिखित सहमतिपत्र फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।रोशनीले महराले कोठामै आएर आफूमाथि बलत्कार गरेको दाबी गरेपछि यो प्रकरण बाहिर आएको थियो । शुरुमा महारामाथि बलात्कारको आरोप लगाएपनि उनले अहिलेसम्म प्रहरीमा जाहेरी दिन र स्वास्थ्य परिक्षण गराउन भने इन्कार गरेकी छन् ।
घटना हुँदा उपत्यका बाहिर रहेका चित्रजंगले काठमाडौं फर्केपछि श्रीमतीसँग अलग हुने निर्णयमा पुगेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘हामी २८ वर्षसम्म सँगसँगै दिन बितायौं र समयको गति सँगै अलग हुने निर्णयमा पुगेका छौं । धन्यवाद शुभचिन्तकहरुमा ।’
उनले फेसबुकमा राखेको सम्झौता पत्रमा ‘सम्वन्धविच्छेद’ शब्द भने प्रयोग गरिएको छैन । आज (बिहिबार) कै मिति राखेर चित्रजंग र रोशनी दुवैले हस्ताक्षर गरेका पत्रमा लेखिएको छ, ‘प्रिय जनहरु, थुप्रै उतारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष बिते । समयको गतिसँगै असन्तुष्टि र असहमति आउँदा रहेछन् । तथापि खुशी साथ अलग अलग बस्ने निर्णय गरेका छौं । कानूनी प्रक्रियाको निरन्तरताका साथ ।’
रोशनीको सुरुवाती वयानले महराले सभामुख पद गुमाउनु परेको छ भने अहिले उनले बयान परिवर्तन गरेकाले अनुसन्धान समेत अन्योलमा रहेको छ ।