काठमाडाैं, १६ असाेज । संघीय संसद्की महिला कर्मचारीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र सभामुख कसलाई बनाउने बहस सुरु भएको छ। संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार नेकपाले सम्हाल्दै आएको सभामुख र उपसभामुखमध्ये एक पद त्याग्नुपर्ने अवस्था पनि आएको छ।
उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले बुधबार सूचना जारी गरी सभामुख पद रिक्त भएको बताएकी छन्। अहिले संघीय संसद्को अधिवेशन अन्त्य भएको छ। नयाँ अधिवेशनले नै सभामुख चयन गर्नुपर्नेछ। नयाँ सभामुखको निर्वाचन कहिलेसम्म गरिसक्नुपर्छ भन्ने समय संविधान र प्रतिनिधि सभाको नियमावलीमा व्यवस्था नगरिँदा सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने विषयमा उपसभामुखले राजनीतिक दलसँगको छलफलबाट टुंगो लगाउने तयारी गरेकी छन्। राजीनामा दिएको अवस्थामा पुनः निर्वाचन गर्ने विषयमा कुनै व्यवस्था नभए पनि नयाँ आमनिर्वाचनपछिको अवस्थामा भने प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
उपसभामुखले सभामुख चयनका लागि निर्वाचनको मिति तोकेको अवस्थामा उनले निर्वाचनको दिन बैठकको अध्यक्षता गर्न पाउने छैनन्। संसद्को ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन्। सभामुख निर्वाचनका लागि उपसभामुखले समेत सभामुखमा उम्मेदवारी दिन सक्नेछिन्। उनले उम्मेदवारी दिएपछि उपसभामुख पद स्वतः रिक्त हुन सक्छ। यसरी उपसभामुख पद पनि रिक्त भएको अवस्थामा सभामुखमा नेकपाले अर्को उम्मेदवार पनि खडा गर्न सक्छ। यद्यपि उपसभामुखमा तुम्बाहाम्फे कायम रहँदा नेकपाले सभामुख पदमा उम्मेद्वारी दिन भने पाउने छैन। उनी हाल नेकपाको तर्फबाट उपसभामुख छिन्। संविधानले सभामुख र उपसभामुख फरक–फरक राजनीतिक दल र फरक लिंगको हुनैपर्ने व्यवस्था गरेको छ।
यदि उपसभामुख आफैं सभामुख उम्मेद्वार बनेर उम्मदवारी फिर्ता गर्ने समयमा फिर्ता लिएमा उनी पुनः उपसभामुखमा रहन सक्ने आधार हुँदैन। नेकपाले सभामुख पद आफैंसँग राख्न उपसभामुख तुम्बाहाम्फेले राजीनामा गर्नुपर्ने हुन्छ। तर, उनले सभामुखलाई राजीनामा बुझाउनुपर्ने भएकाले यो पनि सम्भव नभएको नेकपा नेता सुवास नेम्वाङले बताए। त्यसैले अब नेकपाले दुवैलाई सभामुखको उम्मेदवार बनाएर फिर्ता गराउँदा उपसभामुख पद भने गुमाउनुपर्ने उनी बताउँछन्। तत्कालीन एमाले र माओवादीबीच शक्ति बाँडफाँडका क्रममा माओवादीले सभामुख पद प्राप्त गरेको थियो। अहिले पनि पूर्वमाओवादीले सभामुख पदमा दाबेदारी देखिएको छ।
महराले सभामुख पद गुमाएपछि पूर्वमाओवादी तर्फका देव गुरुङ, ओनसरी घर्तीलगायतका लागि सभामुख बन्ने बाटो खुलेको छ। कानुन पृष्ठभूमिका गुरुङ अहिले नेकपाका सचेतक छन्। पूर्वसभामुख भएका कारण ओनसरीको पनि सभामुख पदमा दाबेदारी छ। त्यस्तै, नेकपा वृत्तमा पूर्वसभामुख तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ आफैं सभामुख बन्न चाहेको चर्चा पनि छ। ने
म्वाङ अहिले नेकपा संसदीय दलको उपनेता छन्। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैलाई मिलाउने क्षमता भएका नेम्वाङ पुनः सभामुख हुने सम्भावना पनि छ। तर, संसदको हिउँदे अधिवेशन कहिले आह्वान हुन्छ र सभामुखको निर्वाचन कहिले हुन्छ भन्ने टुंगो नै छैन। राजधानी दैनिकमा खबर छ।