काठमाडौं, १५ असोज । बडा दसैंको चौथो दिन आज विभिन्न शक्तिपीठमा कुष्माण्डा माताको पूजा आराधना गरिँदै छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने चलनअनुसार आज कुष्माण्डा माताको पूजा गरिन्छ । पूजाका लागि बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनको भीड लागेको छ ।
हिन्दु धर्मालवम्बीले विधिपूर्वक घरमा घटस्थापना गरेसँगै नवरात्र आरम्भ भएको हो । घटस्थापनमा छरेर उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।
घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । आज आराधना गरिने कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकका रुपमा पुज्ने गरिन्छ ।
कुष्माण्डा उष्ण रक्तसमूह मानव, चराचरुंगी तथा शीतरक्त समूह माछा, सर्पलगायत प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रमा उल्लेख छ । देवीको शरीर बैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण २ घडा लिएकी छन् ।
कुष्माण्डाको लौकिक अर्थ कुभिन्डो हो। उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिन्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर पूजा गर्ने चलन छ ।
यस वर्षको विजया दशमी असोज २१ गते मंगलबार परेको छ । सोही दिन बिहान ८:४५ बजे देवी बिसर्जन गरेपछि १०:३५ को शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।