आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू : नेपालले क्यानडालाई हराउनैपर्ने, केन्यालाई हराउँदै नामिबिया दोस्रो स्थानमा

आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू : नेपालले क्यानडालाई हराउनैपर्ने, केन्यालाई हराउँदै नामिबिया दोस्रो स्थानमा

काठमाडौं । घरेलु टोली नामिबिया केन्यालाई ८ विकेटले पराजित गर्दै आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को दोस्रो स्थानमा उक्लेको छ।

आज भएको खेलमा नामिबियाले १११ रनको लक्ष्य १६ ओभरमा २ विकेट पूरा गर्दै नेपाललाई रनरेटमा पछि पारेको हो। अन्तिम चरणको खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ। तर रनरेटमा पछि रहेको नेपाल तेस्रो स्थानमा झरेको छ। नेपालले बुधबार शीर्ष स्थानको क्यानडासँग खेल्दैछ भने नामिबियाले चौथो स्थानको युएईसँग खेल्नेछ। अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वर्ल्ड कप क्वालिफायरमा स्थान बनाउन क्यानडालाई हराउनैपर्नेछ। हारले नेपालको यात्रा डिभिजन टू मै यथावत रहने सम्भावना बढी छ।

नेपाल क्यानडासँग पराजित भएमा युएईले नामिबियालाई पराजित गर्नुपर्नेछ र यस्तो अवस्थामा नेपाल, युएई र नामिबियाको समान ६ अंक हुनेछ र राम्रो रनरेट हुने टिम शीर्ष दुईमा पर्नेछ। अहिले नेपालको रनरेट अन्य टिमको भन्दा कम भएकाले नेपालले क्यानडालाई अन्तिम लिग खेलमा हराउनैपर्ने दबाब बढेको छ। नेपालका प्रशिक्षक जगत टमाटाले भोली राम्रो क्रिकेट खेल्दै क्यानडालाई हराउने बताइसकेका छन्।

डिभिजन टू को शीर्ष दुई स्थानमा रहने टोली वर्ल्ड कप क्वालिफायरमा छनोट हुनेछ भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टू मै यथावत रहनेछन्। लगातार चार हारपछि अंकविहिन रहेको केन्या डिभिजन थ्री मा घटुवा भइसकेको छ। अब अन्तिम खेलमा ४ खेलबाट २ अंक मात्र रहेको ओमान पाँचौ स्थानमा छ। अन्तिम खेलमा नामिबियाले युएईलाई ठूलो अन्तरमा हराउने र ओमानले पनि केन्यालाई ठूलो अन्तरमा पराजित गर्न सकेन ओमान डिभिजन टू मै रहनेछ अन्यथा डिभिजन थ्री मा झर्नेछ। -पहिलोपोष्टबाट