विश्व कप यात्राः नेपाल सामु केन्यालाई जित्नैपर्ने दवाव

विश्व कप यात्राः नेपाल सामु केन्यालाई जित्नैपर्ने दवाव

माघ २९ । सन् २०१९ को विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता रहेको छ । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको पहिलो खेल ५ विकेटले गुमाइसकेको अवस्थामा नेपाललाई विश्व कपको छनोटमा टिकिरहन आजको खेल जसरी पनि जित्नु पर्ने आवश्यकता छ ।

नेपालले च्याम्पियनसिपअन्तर्गत १४ मध्ये ७ खेल हारिसकेको छ र अंक तालिकामा ३ खेल मात्र जितेर ६ अंकका साथ छैटौं स्थानमा छ । च्याम्पियनसिपमा समावेश ८ देशमध्ये माथिल्लो ४ स्थान ओगट्ने टोलीले आउँदो वर्ष बंगलादेशमा आयोजना हुने विश्वकप छनोटको अन्तिम चरणमा भाग लिन पाउने छन् । विश्वकपको अभियानलाई सार्थक तुल्याउन नेपाललाई आज जसरी पनि केन्यालाई हराउनु पर्ने बाध्यता छ ।

केन्या ९ मध्ये ५ खेल जितेर १० अंकका साथ पाँचौ स्थानमा छ । आज नेपाललाई पराजित गरेको खण्डमा केन्या १२ अंकका साथ राम्रो रनरेटको आधारमा एकै पल्ट दोस्रो स्थानमा उक्लिने सम्भावना बलियो छ । हाल अंक तालिकामा १० खेलमा ७ जित सम्भव पारेको नेदरल्यान्ड्स १६ अंकका साथ शीर्षस्थानमा छ । यस्तै, पपुवा न्युगिनी ८ खेलमा १२ अंक बटुलेर दोस्रो स्थानमा छ । हङकङ १० खेलमा ११ अंक बटुलेर राम्रो रनरेटका कारण तेस्रो र स्कटल्यान्ड ८ खेलमा ११ अंक बटुलेर चौथो स्थानमा छ ।

नेपाललाई आज पराजित गर्न सफल भएको खण्डमा केन्याले पपुवा न्युगिनीसँग समान १२ अंक बटुलेपनि राम्रो रन औसतका कारण दोस्रो स्थान ओगट्ने सम्भावना बलियो देखिन्छ । नेपालले आजको खेलपछि जुलाईमा दुई खेलका लागि हङकङको यात्रा गर्दैछ । हङकङले च्याम्पियनसिपको १० खेल खेलिसकेको छ र ५ खेलमा जित सम्भव पारेको छ । ५० ओभरको क्रिकेटमा हङकङविरुद्ध नेपालको खेल प्रभावशाली रहदै आएको छ ।

त्यसैले हङकङ यात्रामा नेपालले राम्रो नतिजाको आशा राखेको छ । फेरि ‘एपेन्डिक्स’ को सल्यक्रियाका कारण केन्याविरुद्धको खेलमा अनुपस्थित रहेको कप्तान पारस खड्का पुनः टिममा फर्किने सम्भावना पनि बलियो छ ।  पारस यो च्याम्पियनसिपमा ४४ को औसतले ८ खेलमा ३ सय ५२ रन बनाउदै रन बनाउने मामिलामा हङकङका अंशुमन राथपछि दोस्रो नम्बरमा छन् । राथले ७ खेलमा ४ सय ९८ रन बनाएका छन् ।

हङकङको यात्रा समाप्त गरेपछि नेपालले अंक तालिकाको पुछारमा रहेको युनाइटेड अरब इमिरेट्स (युएई) सँग नोभेम्बरको अन्त्यतिर दुई खेल घरेलु टियु मैदानमै खेल्नेछ । युएईले हालसम्म खेलेको ८ मध्ये ७ मा पराजय र १ मा मात्र जित सम्भव पारेको छ । युएई दुई अंकका साथ लिगको पुछारमा छ । त्यसैले युएईसँगको दुवै खेल जित्ने आशा गर्न सकिन्छ । नेपालले बाँकीको ५ खेल जितेको खण्डमा अंक तालिकामा स्पष्ट १६ अंक बटुल्नेछ । जुन नेपाललाई अंक तालिकाको शीर्ष ४ स्थान ओगट्दै विश्व कप छनोटको बाटो तय गर्न पर्याप्त हुनेछ ।

केन्या सन् १९८१ देखि आइसीसीको एशोसिएट देशका रुपमा छ । सन् १९९६ मा एकदिवसीय र २००७ मा अन्तराष्ट्रिय ट्वेण्टी ट्वेण्टी क्रिकेट खेलेको केन्याले सन् २०१४ मा एकदिवसीय र र ट्वेण्टी ट्वेण्टी मान्यता गुमाएको हो ।

केन्याले सन् २००३ मा विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेर सनसनी मच्चाएको थियो । केन्या सेमिफाइनलमा भारतसँग हारेको थियो ।