किरण, पारससहित ३५ खेलाडी उत्कृष्ट, जोशीलाई गजराज स्मृति आदर्श खेलाडी सम्मान

किरण, पारससहित ३५ खेलाडी उत्कृष्ट, जोशीलाई गजराज स्मृति आदर्श खेलाडी सम्मान

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नेपाली खेलकुदमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक जित्ने भारोत्तोलनका पूर्व खेलाडी एवंम् मुख्य प्रशिक्षक सुनिललाल जोशीलाई मरणोपरान्त गजराज स्मृति आदर्श खेलाडीबाट सम्मानित गर्ने भएको छ ।

आज दिउँसो टोखामा आयोजना हुने एनएनआइपिए उत्कृष्ट खेलाडी २०७३ सम्मानमा जोशीको परिवारलाई सम्मान प्रदान गरिने जनाइएको छ । सन् १९८४ मा काठमाडौंमा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद (तत्कालिन साफ हालको साग) देखि छैटौं बाहेक सातौं सम्म लगातार भाग लिएका जोशीले हरेक पटक पदक जितेका थिए । उनले सागमा मात्र १३ पदक जितेका थिए ।

त्यो नेपाली खेलकुदमा सागमा कुनै पनि खेलाडीले जितेको सर्वाधिक पदक हो । गजराज जोशी स्मृति प्रतिष्ठानले आदर्श खेलाडी सम्मान हरेक वर्ष प्रायोजना गर्दै आएको छ । गजराज जोशी नेपालले भाग लिएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी टोलीका सदस्य हुन् । यसपटक जोशीकै जन्मथलो टोखामा खेलाडी सम्मान कार्यक्रम हुँदैछ ।

त्यस्तै यो वर्षबाट सुरु गर्न लागिएको एनएनआइपिए पत्रकारिता सम्मान वरिष्ठ सञ्चारकर्मी श्याम चित्रकारलाई प्रदान गरिने संघले जनाएको छ । युवा अवस्थामा एथलेटिक्स र फुटबलका खेलाडी रहेका चित्रकार झन्डै ४ दशकले देखि खेलकुद फोटो पत्रकारका रुपमा सक्रिय छन् ।

नेपाल टेलिभिजनको स्थापनाकालका क्यामरा पर्सन समेत रहेका चित्रकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पनि झन्डै एक दशक फोटो पत्रकारका रुपमा काम गरेका थिए । चित्रकार अहिले पनि खेलकुद पत्रकारितामा सक्रिय छन् । उनी नेपाल टेभिजनका लागि खेलकुद समाचार र साप्ताहिक खेलकुद कार्यक्रम निर्माण गर्दै आएका छन् ।

गत वर्ष पूर्वाञ्चालमा आयोजना भएका ३५ खेलका उत्कृष्ट खेलाडीलाई आज सम्मान गरिदैछ । हरेक संघको सिफारिसमा उत्कृष्ट खेलाडी यसअघि नै सर्वाजनिक भइसकेको छ । गत वर्षसम्म २५ खेलका खेलाडीलाई सम्मान गर्दै आइएको एनएनआइपिएले जनाएको छ ।

३५ खेल फुटबल, क्रिकेट, कराते, तेक्वान्दो, उसु, बक्सिङ, एथ्लेटिक्स, भलिबल, भारोत्तोलन, पौडी, जुडो, आर्चरी, सुटिङ, कुस्ती, लन टेनिस, सफ्ट टेनिस, टेबल टेनिस, कबड्डी, जिम्न्यास्टिक छन् । बास्केटबल, ह्यान्डबल, हक्की, चेस, साइक्लिङ, स्क्वास, ट्रायथलन, खो खो, स्नुकर एन्ड बिलियार्ड, फेन्सिङ, शारीरिक सुगठन, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, सेपाक ताक्रो, फुल कन्ट्याक्ट कराते र गल्फका उत्कृष्ट खेलाडी सम्मानित हुनेछन् । हाम्रो खेलकूदमा खबर छ ।

एनएनआइपिए उत्कृष्ट खेलाडी २०७३ का विजेता 
१. किरण चेम्जोङ– फुटबल
२. पारस खड्का – क्रिकेट
३.प्रतिभा माली – भलिबल
४.परशुराम बास्तोला – कराते
५. स्यान्टु श्रेष्ठ – टेबल टेनिस
६. अस्मिता राई – शुटिङ
७. सुनिल थापा – बक्सिङ
८. दीनेश थापा – भारोत्तोलन
९. राजु राई – जिम्न्याष्टिक
१०. मयांका राणा – लन टेनिस
११. विजयकुमार चन्द – कबड्डी
१२. प्रदीप खत्री – सफ्ट टेनिस
१३. उमा राई – ह्यान्डबल
१४. राजेश मगर – साइक्लिङ
१५. प्रदीप राजवंशी– हक्की
१६. मदनकृष्ण कायस्थ – चेस
१७. अरहन्त केशर सिंह – स्क्वास
१८. रत्नजित तामाङ – ब्याडमिन्टन
१९. सदीश प्रधान – बास्केटबल
२०. सुष्मि श्रेष्ठ – फुल कन्ट्याक्ट कराते
२१. तुलसा राजथला – आइटिएफ तेक्वान्दो
२२. अनिल गुरुङ – सेपाकताक्रो
२३. दीलकुमारी तामाङ – खोखो
२४. महेश्वर महर्जन – शारीरिक सुगठन
२५. दीपक मगर – स्नुकर एन्ड बिलियार्ड
२६. रेजिना कार्की – तेक्वान्दो
२७. निमा घर्ती मगर – उसु
२८. फुपु ल्हामु खत्री – जुडो
२९. प्रेमप्रसाद पुन – आर्चरी
३०. शीरिष गुरुङ – पौडी
३१. कान्छीमाया कोजु – एथलेटिक्स
३२. सन्दीप लामा – फेन्सिङ
३३. शुक्रबहादुर राई – गल्फ
३४. बसन्त थारु – ट्रायथोलन
३५. सरोज यादव – कुस्ती