रूपन्देही, ३ भदौ । रूपन्देहीमा भएकाे नेपाली कांग्रेसकाे दुइ दिने प्रशिक्षण सकिएकाे छ । प्रदेश ५ का १२ जिल्लाका ४ सय जना महाधिवेशन प्रतिनिधिले कांग्रेसको इतिहास, वर्तमान बाम सरकारको कमजोरी, असल नागरिक बन्ने अभियान, कांग्रेससंग नागरिक र नागरिकसंग कांग्रेसका विषयमा प्रशिक्षण लिए ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी महाधिवेशन, उपनिर्वाचन र आगामी निर्वाचनलाई केन्द्रित गरेर महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिएको हो । प्रशिक्षणमा कांग्रेसले अहिले सम्म आफ्नो नेतृत्वमा गरेका तथा भएका सामाजिक, सांस्कृतिक र राजनीतिक आन्दोलनको विश्लेषण गर्दै प्रशिक्षण दिइएको थियो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले प्रशिक्षणले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई तेजिलो बनाएको बताए । उनले आगामी दिनमा नेपाली कांग्रेस र कांग्रेसको सिद्धान्त अझै चम्किने उल्लेख गरे । उनले भने, “प्रशिक्षणले नेपाली कांग्रेस भनेको एकदमै सफा खरानी भित्र राम्ररी बोलिरहेको कोइला जस्तै पार्टी हो, यो प्रशिक्षणले के गर्छ भने खरानी पन्छाउछ र ज्वाला प्रस्फुटन गराउने काम गर्दछ ।” यो प्रतिशण पछि नेपाली कांग्रेस जनताको अत्यन्तै प्रिय पार्टी बन्नेछ भने आगामी सम्पुर्ण निर्वाचनमा सबैभन्दा ठुलो दल बन्ने पक्का छ, दाहालले भने । उनले सातवटै प्रदेशमा आयोजना गरिएको प्रतिशणले नेपाली कांग्रेसलाई फेरी उर्जाशिल बनाउनुका साथै पार्टीको अभियान गाँउगाँउ सम्म पुग्नेछ भने टोलटोलमा लहर ल्याउने बताए ।
तीन तहको सरकारमा नै नेपाली कांग्रेसको पराजयका किन र के कारणले भयो भन्ने विषयमा समेत यस प्रशिक्षणमा महाधिवेशन प्रतिनिधिलाई राम्रैसंग प्रशिक्षण दिइएको थियो । मुलत अंक गणितीय हार र सैद्धान्तिक विषयका विषयमा पनि प्रशिक्षणमा राम्रैसंग बहष तथा छलफल भएको प्रतिष्ठानका सदस्य प्रमोदहरी गुरागाईले उल्लेख गरे । उनका अनुसार प्रतिष्ठानले दिएको प्रशिक्षणपछि महाधिवेशन प्रतिनिधिले गाउँगाउँमा गएर आम नागरिकलाई कांग्रेसका सिद्धान्तका विषयमा बहस गर्न, केन्द्रिय नेतृत्वमा अगाडि आँखामा आँखा जुधाएर समसमायिक विषयमा बहस गर्न सक्ने, फरक विचारधारा भएका व्यक्तिसंग बहस गर्न सक्ने भएका छन् ।
यो प्रशिक्षणले नेकपाका कार्यकर्तासंग सत्ताको आडमा गरिएका असमाजिक कार्यको विरोध र प्रतिरोध गर्ने उर्जा दिएको प्रशिक्षणमा सहभागी महाधिवेशन प्रतिनिधि कमल प्रसाद भुसालले उल्लेख गरे । उनले आगामी दिनमा पार्टी कार्यकर्तालाई जागरुक बनाउदै कांग्रेसीजनलाई टोलटोलबाट जुरमुराउने उल्लेख गरे ।
दुई दिन सम्म चलेको प्रशिक्षणमा डा. जगदिश चन्द्र पोखरेल, डा. गोबिन्द पोखरेल, डा. आरजु देउवा, केशव निरौला, पुरुषोत्तम दाहाल, राजु नेपाल लगायतले पाँच वटा चरणमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा १२ जिल्लाका ४ सय जना महाधिवेशन प्रतिनिधि सहभागि थिए ।