पत्रकार शालीग्राम मृत्यु प्रकरण: प्रहरी अनुसन्धानको प्रतिक्षा गरौं

पत्रकार शालीग्राम मृत्यु प्रकरण: प्रहरी अनुसन्धानको प्रतिक्षा गरौं

कुसुम भट्टराई

पत्रकार शालीग्रामको हत्या भयो या आत्महत्या, यो विषय प्रहरी र न्यायालयले निक्र्यौल गर्नेछ । पत्रकार रवी लामीछानेलाई फँसाउन खोजिएको हो या शालिग्रामको मृत्युमा उनको पनि भूमिका छ, त्यो पनि रहष्योदघाटन हुने नै छ । रवी लामीछाने पाँच दस दिन हिरासतमा रहनु भनेको अनुसन्धान निक्र्यौलमा पुग्न मद्दत हुनु हो र यो रवीकै हितमा पनि छ । अतः मलाई प्रहरी कार्यालयमा सुरक्षित रवीको खासै चिन्ता छैन । यो एउटा सामान्य कानूनी प्रकृया हो भन्नेमा म स्पष्ट छु ।

लामो श्रमजिवी पत्रकार भएका नाताले यतिबेला मेरो सरोकार र भावुकता शालिग्रामप्रति नै छ, जसको ज्यान गएको छ । मेरो समवेदना सम्झना पुडासैनीप्रति छ, जसले चौबिस वर्षकै उमेरमा पति गुमाउनुपरेको छ । मेरो समवेदना शालिग्रामका माता पिता र आफन्तजनहरुप्रति छ, जो यतिबेला शोक सन्तप्त मुद्रामा हुनुहुन्छ ।

म ति मानिसहरुप्रति खेद व्यक्त गर्छु, जो शालिग्रामको मृत्यु, उनकी श्रीमती र उनको परिवारप्रति निष्पृह छन् । मलाई ति मानिसहरुप्रति खेद छ, जो प्रहरी कष्टडीमा सुरक्षित रवीको अचाक्ली चिन्ता गर्दै सडकमा अराजकता मच्चाइरहेका छन् । तर, ज्यान गुमाइसकेको पत्रकारप्रति उनीहरुमा कुनै समवेदना छैन ।

हाम्रो नेपाली समाज कुन हदसम्म संबेदनाहीन भइसकेछ भने जो मारियो, जसले आफ्नो श्रीमान गुमायो र जसले आफ्नो छोरा गुमायो उनीहरुप्रति सहानुभूति दर्शाउँदैन, तर लोकप्रिय मानिसको हितैसी बन्छ र भिडको मानसिकताको दास बन्ने क्रममा आफ्नो विवेक गुमाउँछ । यस्तो विवेकहीन, संबेदनाहीन, मानवीय मुल्य र मान्यताबाट भडकीएको, प्रेम र करुणाको क्षय हुँदै गएको यो स्वार्थी संसारमा शालिग्रामको मृत्यु (हत्या या आत्महत्या)लाई मजाक, जोक र सस्तो बहसको विषय बनाउने या यही विषयलाई भजाएर राजनीतिक स्वार्थ सिद्धी गर्नेहरु सबैप्रति मेरो घोर विरोध छ ।

लोकप्रिय हुँदैमा कोही मानिस असल हुन्छ नै भन्न सकिन्न । हिटलर, सद्दाम हुसेन, स्टालीन आदि मानिसहरु पनि कुनैबेला लोकप्रिय मानिन्थे । प्रचण्ड र या ओली पनि त अस्ती चुनावसम्म लोकप्रिय नै थिए । यो समाजमा हामी सबै स्प्लीट पर्सनालीटी(द्वैध व्यक्तित्व) बोकेर बाँचीरहेका छौं । टिभी सामु महान देखिने मानिस भित्री रुपमा भयंकर कपटी, बदमास र अपराधी मानसिकताको पनि हुनसक्छ । हाम्रा नेताहरुकै कुरा गरौं, ति मंचमा उभिदा समाजबादको कुरा गर्छन्, तर गोप्य रुपमा दलाल पुँजीपतिहरुसँग साँठगाँठ गर्छन् । भाषण गर्दा भ्रष्टाचार अन्त्यको दुहाइ दिन्छन्, तर वाइड बडीदेखि सुडान घोटालासम्म उनीहरुकै संलग्नता हुन्छ । समाजको केन्द्रिय विधा राजनीतिमा लाग्नेहरुकै यस्तो स्प्लीट पर्सनालीटी छ भने, त्यही राजनीतिक बृत्त र माफीयाभित्र रुमल्लीएको प्रेस जगतमा काम गर्नेहरुमा द्वैध व्यक्तित्व नहुने भन्ने हुन्छ र ? हुनसक्छ । मैले यस्ता द्वैध व्यक्तित्व बोकेका धेरै पत्रकार चिनेको छु, तिनको नाम यहाँ नभनीहालौं, तर ती अहिले पनि टिभीमा चर्को स्वरमा कराइरहेकै छन्, ‘जनता जान्न चाहन्छन्’ भन्दै ।

रवी लामीछाने लोकप्रिय हुँदैमा, उनले ‘सिधा कुरा जनतासँग’मार्फत केही समय असल र परोपकारी काम गर्दैमा, समग्रमा उनको व्यक्तित्व असल हो भन्ने निश्कर्ष अहिले नै ननिकालौं । प्रहरीलाई अनुसन्धान गर्न दिउँ न । भोली अदालत र प्रहरी अनुसन्धानबाट सप्रमाण रवी दोषी साबित भएमा आज रवीको पक्षमा बोल्नेहरुको मुखमा कालो पोतिनसक्छ नी । अतः प्रहरी अनुसन्धान पुरा नहुन्जेल अनावश्यक बकबास नगरौं । कानूनी राज्य र विधिको शासनमा जोड दिउँ ।

बरु आउनुस्, शालिग्रामको आत्माको चीर शान्तिको कामना गरौं, उनले पुनः यो मत्र्यलोकमा जन्मन नपरोस् र उनलाई मोक्ष प्राप्त होस् भनेर प्रार्थना गरौं र शोक सन्तप्त परिवारजनप्रति समबेदना प्रकट गरौं ।


(याे सामाग्री कुसुम भट्टराईकाे फेसबुकबाट लिएका हाैं ।)