बकर इद पर्वकाअवसरमा शुभकामना

बकर इद पर्वकाअवसरमा शुभकामना

काठमाडौं, २७ साउन । इस्लाम धर्मावलम्बीहरुले आज बकर इद पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले साझा सांस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराहरूको संरक्षण तथा सम्बद्र्धनले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इदुल जोहा)का अवसरमा मुस्लिम समुदायमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले परम्पराहरूको संरक्षणले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्न गई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प हासिल गर्न मद्दत पुग्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान चाड बकर ईदको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ । ईद–उल– अजहा (बकर ईद) को अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहीनी सबैमा शुभकामना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल बहुजातीय र बहुसाँस्कृतिक देश भएकोले यहाँका सबै जाति र सँस्कृतिका चाडपर्वहरुलाई राज्यले उत्तिकै सम्मान गर्ने बताउनुभएको छ । बकर ईदले आफूलाई मात्र होइन समुदायका गरिब र इस्टमित्रलाई समेत सहयोग गर्न सबैलाई उत्प्रेरित गर्ने प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

त्यसैगरी सभामुख कृष्णबहादुर महराले पनि इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व बकर ईदको अवसरमा नेपालसहित विश्वभरका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । त्याग, समर्पण र बलिदानको पर्यायका रुपमा मनाइने बकर ईद पर्वले समस्त नेपालीमा आपसी सद्भाव, भातृत्व, त्याग, सेवा एवं सम्मानको भावना पैदा गर्ने मैले विश्वास लिएको सभामुखले आफ्नो सन्देशमा भन्नुभएको छ ।

यस्तै, पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘इद अल जोहा’ले नेपाली समाजमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने बताउनुभएको छ । लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि इस्लाम धर्मावलम्बीहरूको योगदानको पनि दुबै नेताले चर्चा गर्नुभएको छ ।