आज विजया दशमी

आज विजया दशमी

 

आज विक्रम संवत् २०७४ साल आश्विन १४ गते शनिबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत आश्विन शुक्ल पक्ष(दुर्गा पक्ष) को विजया दशमी  तिथि  राति १०।५९   बजेसम्म रहने छ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईषा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति तुला राशिमा रहेका छन् ।  उत्तराषाढा नक्षत्र बेलुका ५।५ बजेसम्म रहने छ ।  यसैगरी आज  अतिगण्ड योग र तैतिल करण रहेको छ । सूर्योदय प्रातः ५।५६ बजे छ भने सूर्यास्त बेलुका ५।४९ बजे हुने छ । आज चन्द्रमा मकर राशिमा रहने  छन् । आज विजया दशमी । दिन भर नै टीका प्रसादका निम्ति शुभ साइत रहने छ । आज  अपराजित जया विजयाको विशेष पूजा  गरिन्छ । भगवान श्रीरामले रावणमाथि विजय प्राप्त गरेको धार्मिक ऐतिहासिक प्रसङ्ग पाइन्छ ।  यस दिन हर्षोल्लास पूर्वक मान्यजनबाट आशीर्वाद स्वरूप भगवतीको टीका प्रसाद जमरा ग्रहण गर्ने चलन रहिआएको छ । यसैगरी ज्योतिषीय दृष्टिले पनि विजया दशमीको विशेष महŒव रहेको छ । विजया दशमीको दिनभरी नै शुभ साइत हुन्छ । कुनै विशेष समय जुराउनु पर्दैन । शुभ कार्यको आरम्भ गर्न पनि यो दिन उत्तम रहेको कुरामुहूत्र्त चिन्तामणिमा उल्लेख छ । नवरात्रमा विशेष कामनाका साथ भगवती दुर्गादेवीको पाठ आराधना गर्ने पनि शास्त्रीय विधान रहेको छ । भक्ति भाव पूर्वक भगवती दुर्गा देवीको उपासना गरेमा इच्छित मनोकांक्षा पूरा हुने शास्त्रीय विधान छ ।

आफूभन्दा ठुला मारुन्यजनबाट आशीर्वाद लिने क्रममा विशेष आशीर्वचन  दिने पनि चलन रहिआएको छ । आयुद्रोणसुतेश्रियं दशरथे शत्रुक्षयोराघवे । ऐश्वर्यं नहुषे  गतिश्च पवने मानञ्च दुर्योधने ।  शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते । विज्ञाने विदुरे भवोति भवतां कीर्तिश्च नारायणे ।।  अर्थात् अश्वत्थामाको जस्तै लामो आयु होस्, राजा शरथको जस्तै श्रेय रहोस्, भगवान् रामका जस्तै शत्रु नाश हुन्, नहुष राजाको जस्तै ऐश्वर्य होस्, वायुको जस्ते गति होस्, दुर्योधनको जस्तो मान होस्, सन्तनुको जस्तो शौर्य होस् , सबैले मान्ने गुन्ने हुनू, कुन्तीपुत्र युधिष्ठिर जस्तै सत्यवादी हुनू, ज्ञान विज्ञानमा विदुर जस्तै नीतिवान र ज्ञानवान हुनू, भगवान नारायणको जस्तै यस कीर्ति सर्वत्र फैलियोस् भन्ने भावना समेटिएको उक्त आशीर्वचनले धार्मिक एवं साँस्कृतिक दुवै पक्षलाई अबलम्बन गरेको छ । आयु, आरोग्य ,ऐश्वर्यको शुभकामना आदान प्रदान गर्ने कार्य कोजाग्रत पूर्णिमाका दिनसम्म चलिरहन्छ । कतै कतै दशमीका दिन मात्र टीका प्रसाद आशीर्वादको कार्यक्रम रहेने चलन पनि रहिआएको छ ।  यो हर्षोल्लास र उत्सवको पर्व हो । एक आपसमा खुशियाली साटासाट गर्दै मनाउने यस पर्वका अवसरमा लिङ्गे पिङ,रोटेपिङ आदि मनोरञ्जनका विषयवस्तुले पनि स्थान पाउछन् । विशेष गरी विजया दशमकिा दिन धर्ती छोड्नु पर्छ भन्ने मान्यताले पनि पिङ खेल्ने गरिन्छ ।

एक आपसमा नाच गान गर्दै रमाइलो मान्ने चलन पनि वर्तमान समयमा चल्ने गरेको पाइन्छ ।  भगवती दुर्गामाताको अनुकम्पाले हामी सबैमा सुख, शान्ति,समृद्धि र ऐश्वर्य प्राप्त होस् । विजया दशमीको हार्दिक मंगलमय शुभकामना ।