रसुवागढीको सुरुङ मार्गमा थुनिएका सबै कामदारको सकुशल उद्धार

रसुवागढीको सुरुङ मार्गमा थुनिएका सबै कामदारको सकुशल उद्धार

रसुवा, ६ असार । सुख्खा पहिरोका कारण रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा थुनिएका १७ कामदारको सकुशल उद्धार गरिएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको नेतृत्वमा खटिएको नेपाली सेना, प्रहरी र स्थानीयबासीको पहलमा उद्धार गरिएको हो । रसुवाको गोसाइकुण्ड –२ मा पर्ने आयोजनास्थलमा रहेको सुरुङमा हिँजो साँझ करिव साढे ८ बजे झरेको सुख्खा पहिरोमा कामदारहरु थुनिएका थिए ।

सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ कामदार भएकोमा एक जना नेपाली कामदार सामान्य घाइते भएको प्रमुख जिल्ला अधिकारी मण्डारीले सीआईएनलाई जानकारी दिनुभयो । सदरमुकाम धुन्चेबाट २८ किलोमिटर उत्तरमा घटनास्थल रहेको छ । रसुवामा १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माणाधीन छ । सुरुङको मुख मात्रै थुनिएकोले उद्धारमा सजिलो भएको जनाइएको छ । सुरुङभित्र थुनिएकाहरूको ११ घण्टापछि सकुशल उद्धार गरिएको हो ।

सुरुङ क्षेत्रमा सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले जोखिम कायमै रहेको प्रहरीले जनाएको छ । त्यसैले अहिले आयोजनाको काम रोकिएको छ । केही उपकरणहरु सुरुङभित्रै थुनिएका छन् । प्रहरीकाअनुसार भौतिक क्षतिको  पूर्ण विवरण आउन बाँकी छ ।