काठमाडौं, २३ जेठ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘विनियोजन विधेयक, २०७६ लाई विचार गरियोस’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि यही जेठ २७ गतेदेखि आगामी असार ६ गतेसम्म छलफल हुनेछ ।
सभामुख कृष्णबहादुर महराले दलीय प्रतिनिधित्वका आधारमा छलफल हुने जानकारी दिनुभयो । विधेयकमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा खतिवडाले कृषि क्षेत्रको विकासका लागि सरकारले रासायनिक मल आयातलाई थप सहज बनाउन लागिपरेको बताउनुभयो । रासायनिक मल आयातलाई व्यवस्थित बनाउन सरकारले सरकार–सरकार (जिटुजी) अवधारणामा काम गर्ने तयारी गरेको समेत उहाँको भनाइ थियो । अर्थमन्त्रीले बजेट मौलिक हक कार्यान्वयन गर्ने गरी तय गरिएको जानकारी दिनुभयो ।
विधेयकमाथि सांसद प्रेम सुवाल, पार्वती डिसी चौधरीलगायतले धारणा राख्नुभएको थियो । त्यसअघि डा खतिवडाले ‘विनियोजन विधेयक, २०७६’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६’ र ‘ऋण तथा जमानत (तेइसौं संशोधन ) विधेयक, २०७६’ प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २७ गते बिहान ११ बजे बस्नेछ ।