आज  दशैँको महानवमी, सिद्धिदात्री भगवतीको उपासना गर्ने दिन

आज  दशैँको महानवमी, सिद्धिदात्री भगवतीको उपासना गर्ने दिन

आज विक्रम संवत् २०७४ साल आश्विन १३ गते शुक्रबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत आश्विन शुक्ल पक्ष(दुर्गा पक्ष) को महानवमी  तिथि  वेलुका ९।२२  बजेसम्म रहने छ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईषा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति तुला राशिमा रहेका छन् ।  पूर्वाषाढा नक्षत्र दिवा २।४९ बजेसम्म रहने छ ।  यसैगरी आज  शोभन योग र बालव करण रहेको छ । सूर्योदय प्रातः ५।५६ बजे छ भने सूर्यास्त बेलुका ५।५१ बजे हुने छ । आज बजेसम्म चन्द्रमा धनु राशिमा रहने  छन् । आज दशैँको महानवमी ।

आज सिद्धिदात्री भगवतीको  विशेष पूजा अर्चना गरिन्छ । यसस दिन सिंहपूजा,भगवती देवीको षडङ्गपूजा,शस्त्र पूजा पूर्वक नवदुर्गाको पूजा आराधना हुने गर्दछ । विशेष बलि प्रदान पनि गरिन्छ । महानवमीमा भगवतीका दुर्गा देवीको नवौँ दिनको विशेष पूजा आराधना हुने गर्दछ । यस दिन नव कन्या कुमारीको पूजा पश्चात भोजन गराउने चलन पनि रहेको छ । आद्य शक्ति दुर्गा देवीका महाकाली ,महालक्ष्मी र महासरस्वती गरी तीन रूप छन् । तमोगुणमयी महाकाली भगवान् विष्णुकी योगनिद्रा र माया शक्ति हुन् । मधु र कैटभलाई बध गर्नका लागि ब्रह्माजीले जसको स्तुति गरेका थिए तिनै देवीको नाम  महाकाली हो । उनका दश मुख,दस हात र दस पाउ रहेका छन् । जो श्याम वर्णकी छिन् । यस्ती महाकालीले आफ्ना हातमा खड्ग,बाण,गदा,शूल,चक्र,शंख,भुशुण्डी,परिघ,धनुष र मुण्डमाला धारण गरेकी छन् ।  सम्पूर्ण देवताको अङ्गबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान  देवी महालक्ष्मी हुन् । जसलाई त्रिगुणमयी प्रकृति पनि भनिन्छ । महिसासुरको बध पनि यिनै देवीले गरेकी हुन् । विचित्र रूप ,कान्ति एवं सौभाग्यले सुशोभित देवीका हजारौँ हात छन् । जसलाई  अठारवटा हात भएकी देवीका रूपमा पूज गर्ने चलन छ ।

उनका  हातमा अक्षमाला,कमल,वाण,खड्ग,वज्र,गदा,चक्र,परशु(वञ्चरो),त्रिशुल शङ्ख,घण्ट,पाश,शक्ति,दण्ड,ढाल,धनुष ,पानपात्र र कमण्डलु विभूषित छन् ।   सत्वगुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएकी शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात्  देवी महासरस्वती हुन् ।  त्यस्ती देवीका आठ भुजा(हात)   छन् । ती हातमा क्रमशः वाण,मुसल,शूल,चक्र,शंख,घण्ट,हल एवं धनुष विराजमान  रहेका छन् ।  नवदुर्गामा शैलपुत्री, ब्रह्मचारिणी, चद्र्रघण्टा, कुष्माण्डा, स्कन्धमाता ,कात्यायनी, कालारात्री ,महागौरी र सिद्धिदात्री पर्दछन् । यसैगरी देवीका अङ्गभूत छ देवी छन् ः नन्दा,रक्तदन्तिका,शाकम्भरी,दुर्गा,भीमा र भ्रामरी । रक्त वर्णकी देवीको वाहन बाघ हो । देवीका ब्राह्मी,माहेश्वरी,कौमारी ,वैष्णवी,वाराही,नारसिंही, ऐन्द्री,शिवदूती तथा चामुण्डा यी नौ शक्ति हुन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला

ज्योतिषाचार्य

सम्पर्क : ९८०३३४४४६४