कालिकोटको हविगत, जहाँ गरिब त्यही भोकमरी

कालिकोटको हविगत, जहाँ गरिब त्यही भोकमरी

काठमाडौं । खाडाचक्र ४ दलित टोलका ३९ वर्षीय माने विश्वकर्माको ७ जनाको परिवार करिब तीन साताअघि गाउँमा फैलिएको भाइरल ज्वरोले थला पर्‍यो। छरछिमेकले एक साता खाना बनाएर खुवाए। महामारी फैलिएको खबर पाएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक टोली आएर औषधि दिएपछि ज्वरो कम भएको छ। सबै उठेर बस्न सक्ने भएका छन्।

६० वर्षअघि बुबा पर्से कामीले बनाएको पुरानो घर भत्किएपछि १३ वर्षदेखि छिमेकीले छाडेको घरमा बस्दै आएका माने र उनकी २९ वर्षीया पत्नी नन्दा शारीरिक अपांगता भएका व्यक्ति हुन्। पाखो बारीको उत्पादनले महिना दिन पनि खान पुग्दैन। सात जनाको यो परिवारमा कमाइ गर्ने कोही छैन।

मानेको परिवार धेरैजसो मागेर गुजारा चलाउँछन्। कम फरकमा जन्माएका १० वर्षमुनिका ५ छोराछोरी र दुई बूढाबूढीलाई बिहान खाए बेलुकी के खाउँ, बेलुकी खाए बिहान के खाउँ भन्ने चिन्ता छ। ‘मलाई त छाककै चिन्ता छ हजुर !,’ १३ वर्षको उमेरमा दाउरा काट्न स्थानीय खडीखोला जंगल गएका बेला रूखबाट लडेर मेरुदण्डमा चोट लागेर अवलांग बन्न पुगेका मानेले भने, ‘रोगबिमार पनि गरिबलाई नै लाग्न्या रै’छ।’

पहिले बिहे गरेका दुई पत्नी पोइल हिँडेपछि उनले शारीरिक अपांगता (खुट्टा) भएकी नन्दा विकलाई भित्र्याए। ‘म ढाडको बिमारी, बूढी खुट्टाकी,’ शुक्रबार सिलौटामा पिसेको कोरो नुनखुर्सानीसँग मकैको सुक्खा रोटी खाँदै गफिएका उनले भने, ‘खाने मुख बढाउने त मन थिएन, के गर्नु ! सुरुमा छोरी जन्मिए, छोरा अन्तिममा मात्र भए।’ उनको भनाइले नै पुष्टि गर्छ– यो गाउँमा चरम लैंगिक विभेद छ। छोरी जति भए पनि छोरा जन्माउनै पर्ने मान्यताले उनका १०, ८ र ५ वर्षीया ३ छोरीपछि २ वर्ष र ४ महिने दुई छोरा छन्। उचित लालनपालन नहुँदा सबै सन्तान कुपोषणग्रस्त छन्।

महामारीको जरा खोतल्दै जाँदा गरिबीसम्म पुगिन्छ। जहाँ चरम गरिबी, त्यहीं बर्सेनि महामारी फैलन्छ। यहाँको दलित बस्ती त्यसको उदाहरण हो। बस्तीका ९५ प्रतिशत परिवारलाई आफ्नो खेतबारीको उत्पादनले ३ महिनाभन्दा बढी खान पुग्दैन। बर्खेयाममा मौसमी तरकारी फल्छ। सिँचाइयोग्य जमिन नहुँदा अधिकांशको बारीमा हिउँदमा त्यो पनि फल्दैन। अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

गाउँको पुछार र छेउमा गहुँ छरेको हरियो जग्गा देखिन्छ तर गैरदलित समुदायको। दलित समुदायको त पानी नलाग्ने पाखो मात्र छ। बजारबाट दाल, चामल, नुन र तेल किनेर लैजान्छन्, तरकारी किनेर खाने चलन कमै छ। बरु चाउचाउ, बिस्कुट, चकलेट बढी उपभोग हुने गर्छ। धेरैजसो पुरुष ज्याला–मजदुरी गरेर कमाएको रकम मदिरामा सिध्याउँछन्। यही प्रवृत्तिले महिला हिंसा बढाएको छ। प्रजनन स्वास्थ्यबारे अज्ञानता, छोराछोरीबीच विभेद, बालविवाह, बहुविवाह, छाउपडी प्रथाजस्ता अन्धविश्वास व्याप्त छ गाउँमा।