

काठमाडौं । हिमालयन बुलियन कम्पनी (एचबीसी) ले काठमाडौंको न्युरोडमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। यसअघि ज्ञानेश्वरबाट मात्रै शुद्ध चाँदीका बार तथा सिक्काको कारोबार गर्दै आएको कम्पनीले आइतबारदेखि न्युरोड मलको पहिलो तलामा पनि सेवा सुरु गरेको हो।
कम्पनीका सञ्चालक भिष्म गौतमले न्युरोडमा नयाँ आउटलेट सञ्चालनमा आएको जानकारी दिँदै यसबाट ग्राहकलाई चाँदी खरिद तथा सङ्कलन गर्न थप सहज हुने विश्वास व्यक्त गरे।
“आजदेखि न्युरोड मलको पहिलो तलामा पनि हाम्रो आउटलेट सञ्चालनमा आएको छ,” गौतमले भने।
उनका अनुसार नयाँ आउटलेट कम्पनीको व्यवसाय विस्तार योजनाको एक हिस्सा हो। आगामी दिनमा देशका अन्य प्रमुख सहरमा समेत आउटलेट विस्तार गर्ने कम्पनीको योजना छ।
नयाँ आउटलेटबाट ग्राहकले चाँदीका बार तथा सिक्का प्रत्यक्ष अवलोकन गरी खरिद गर्न सक्नेछन्। साथै, कम्पनीको मोबाइल एप ‘एचबीसी एप’ मार्फत खरिद गरेको चाँदीको भुक्तानी प्रक्रिया पूरा भएपछि न्युरोड आउटलेटबाट पनि सङ्कलन गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीले चाँदीको कारोबारलाई सहज र पारदर्शी बनाउने उद्देश्यले घटस्थापनाका दिन ‘एचबीसी एप’ सार्वजनिक गरेको थियो। उक्त एपमार्फत ग्राहकले आफ्नो अनुकूलताअनुसार चाँदीका सिक्का तथा बार खरिद गर्न सक्छन्।
एपमा खाता खोली ग्राहक पहिचान प्रक्रिया पूरा गरेपछि प्रयोगकर्ताले चाँदीको दैनिक मूल्य हेर्न र खरिदको लक्ष्य निर्धारण गर्न सक्नेछन्। एपमार्फत १०, २०, ५० र १०० ग्रामका सिक्का तथा ५०० ग्राम वा सोभन्दा बढी तौलका चाँदीका बार खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
यसैगरी, कम्पनीले एप प्रयोगकर्ताका लागि १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा सुविधा उपलब्ध गराउने घोषणा गरेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) र एचबीसीबीचको सहकार्यमा उपलब्ध हुने उक्त सुविधा बीमालेखका सर्त तथा प्रावधानअनुसार लागू हुनेछ।
कम्पनीका अनुसार एपमार्फत चाँदी खरिद गरेको पटकका आधारमा ग्राहकलाई स्ट्यान्डर्ड, गोल्डेन र प्लाटिनम गरी तीन श्रेणीमा वर्गीकरण गरिनेछ। सोहीअनुसार स्ट्यान्डर्ड श्रेणीका ग्राहकले एक लाख रुपैयाँ, गोल्डेन श्रेणीका ग्राहकले पाँच लाख रुपैयाँ र प्लाटिनम श्रेणीका ग्राहकले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन्।
एचबीसी एप भौतिक चाँदी खरिद गर्ने माध्यम भएको कम्पनीले स्पष्ट पारेको छ। एपमार्फत बुक गरिएको चाँदीको सम्पूर्ण रकम भुक्तानी गरेपछि ग्राहकले आफूलाई पायक पर्ने कम्पनीको आउटलेटबाट उक्त चाँदी सङ्कलन गर्न सक्नेछन्।