मोइन अलीको घातक बलिङमा जनकपुरको लगातार दोस्रो जित, पोखरा ९ रनले पराजित

मोइन अलीको घातक बलिङमा जनकपुरको लगातार दोस्रो जित, पोखरा ९ रनले पराजित

काठमाडौं । ओपनर तृतराज दासको अर्धशतक र मोइन अलीको उत्कृष्ट बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ। आइतबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको हो। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको थियो।

तीन खेल खेलेको जनकपुरले दुई जित र एक हारसहित चार अंक जोडेको छ। लगातार दोस्रो हार बेहोरेको पोखराले भने पहिलो जितको खोजी जारी राखेको छ। पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो।

जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो। पोखरालाई लक्ष्यसम्म पुग्न नदिन जनकपुरका मोइन अलीले घातक बलिङ गरे। उनले चार ओभरमा एक मेडन राख्दै १३ रन खर्चेर तीन विकेट लिए। सैफ हसन र हरमित सिंहले समान दुई तथा जिम्मी निसम र ललित राजवंशीले एक–एक विकेट लिए। राहुल यादव भने विकेटविहीन रहे।

पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलमा पाँच चौका प्रहार गरे। ललित राजवंशीको बलमा अविशेक तिवारीबाट क्याच आउट हुनुअघि कुशलले टोलीको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए।

किरण ठगुन्नाले पाँच बलमा दुई चौका र एक छक्कासहित १५ रन बनाए। उनी हरमित सिंहको बलमा एलबीडब्ल्यू धरापमा परे। चमिका करुणारत्ने चार रनमा हरमितकै बलमा कट एन्ड बोल्ड भए।

सकिब अल हसनले नौ, मेहदी हसनले आठ र अर्जुन घर्तीले सात रन बनाए। ओपनर दिनेश खरेल तीन तथा मोहम्मद सैफुद्दिन शून्य रनमा आउट भए।

विपिन आचार्य र विपिन खत्रीले पोखराको इनिङ्स सम्हाल्ने प्रयास गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। जिम्मी निसमको बलमा क्याच आउट हुनुअघि विपिन आचार्यले २० रन बनाए। विपिन खत्री १६ रनमा अविजित रहे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४७ रन बनाएको थियो।

जनकपुरका लागि ओपनर तृतराज दासले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ५५ बलमा सात चौका र दुई छक्का प्रहार गरे। ४९ बलमा ६ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरेका तृतराज मेहदी हसनको बलमा कप्तान कुशल भुर्तेलबाट क्याच आउट भए।

एनपीएलमा तृतराजको यो छैटौँ अर्धशतक हो। यसअघि सोमपाल कामी, डेविड मलान, मोइन अली, दीपेन्द्रसिंह ऐरी र लोकेश बमले पनि अर्धशतक प्रहार गरेका थिए।

अर्का ओपनर मोइन अलीले १६ बलमा तीन चौका र एक छक्कासहित २१ रन बनाए। उनी सकिब अल हसनको बलमा क्याच आउट भए। जिम्मी निसमले ११ रन बनाए भने कप्तान हरमित सिंह र अनिल शाहले समान नौ तथा सैफ हसनले एक रन जोडे। अविशेक तिवारी २४ रनमा अविजित रहे।

पोखराका लागि सकिब अल हसनले तीन विकेट लिए। मोहम्मद सैफुद्दिन र चमिका करुणारत्नेले समान एक विकेट लिए। मेहदी हसनले चार ओभरमा एक मेडन राख्दै २४ रन खर्चेर एक विकेट हात पारे।

एनपीएलअन्तर्गत सोमबार दुई खेल हुनेछन्। पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ।

सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्। उक्त खेल साँझ ५ बजे सुरु हुनेछ।