काठमाडौं, २४ वैशाख । एनसेलले सरकारलाई बुझाउनुपर्ने करका सम्बन्धमा सर्वोच्च अदालतमा आज पनि छलफल र बहस हुने भएको छ । कर असुलमा रोक लगाउने वा नलगाउने भन्ने सुनुवाइलाई सर्वोच्च अदालतले हिजो हेर्दाहेर्दैमा राखेको थियो ।
न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले छलफललाई हेर्दाहेर्दैमा राखेर आज पनि निरन्तरता पाउने आदेश दिएको हो । एनसेलको ८० प्रतिशत सेयर हिस्सेदार रेनोल्ड होल्डिङको सेयर टेलिया सोनेराबाट आजिआटालाई बेच्दा लाग्नुपर्ने पुँजीगत लाभकर एनसेलले तिर्नुपर्ने भन्दै सर्वोच्च अदालतले फैसला गरेपछि ठूला करदाता कार्यालयले ६२ अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण गरिसकेको छ । यसमध्ये करिब साढे २३ अर्ब रुपैयाँ रकम एनसेलले पहिल्यै बुझाइसकेको छ । बाँकी ३९ अर्ब रुपैयाँ बुझाउन एनसेललाई ठूला करदाता कार्यालयले पत्राचार गरेको थियो ।
आफूले आय विवरण दाखिला गरेपछि मात्रै कर निर्धारण हुनुपर्नेमा सोझै संशोधित कर निर्धारण गरेको, त्यो रकम अधिक भएको भन्दै एनसेलले फेरि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो । रिट निवेदनमा एनसेलले लाभकरबापत अब १४ अर्ब ३६ करोड रुपैयाँ मात्रै कर निर्धारण हुनुपर्ने माग गरेको छ ।